काठमाडौं । नेपालमा तारे होटलहरुको संख्या बढ्दो छ । त्यस्तै लक्जरी होटलदेखि लिएर लक्जरी बुटिक होटलको संख्यामा पनि बढ्दो क्रममा रहेको छ
पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलका अनुसार हेरिटेज बुटिक होटलहरु तीन प्रकारका छन् जसमा नोमोल बुटिक होटल, डिलक्स बुटिक होटल, लक्जरी बुटिक होटल पर्छन ।
नोमोल बुटिक होटल तीन तारे सरहको हुन्छ भने डिलक्स बुटिक होटल चार तारे सरहको हुन्छ । त्यसतै लक्जरी बुटिक होटल पाँच तारे सरहको हुने भुजेलले बताए ।
त्यसमध्ये नेपालमा तीन वटा लक्जरी बुटिक होटल छन् । ती होटलमा द्वारिकाज होटल, बसेरा बुटिक होटल, वर्णबास म्युजियम होटल छन् ।
द्वारिकाज होटलः
राजधानीको बत्तिसपुतलीमा रहेको द्वारिकाज होटल अम्बिका श्रेष्ठ र उनका श्रीमान् द्वारिकादास श्रेष्ठले सञ्चालनमा ल्याएका थिए । आफूसँग भएका पूराना काठहरुलाई कलात्मक ढंगले प्रयोग गरेर उनीहरुले सुरुमा चार वटा कोठाबाट सुरु गरेको द्धारिकाज होटल अहिले निकै प्रख्यात छ ।
श्रेष्ठ दम्पत्तिले २०२८ मा व्यवसायिकरुपमा यो होटलको सुरुवात गरेका हुन् । यो होटलमा ८० वटा कोठा रहेको छ । हेरिटेज डिलक्स रुम, हेरिटेज जुनियर सुइट, हेरिटेज इग्जेक्याटिभ सुइट, रोयल सुइट रुमहरु रहेको छ ।
बसेरा बुटिक होटलः
राजधानीको बबरमहलस्थित बसेरा बुटिक होटल कलात्मकरुपमा बनाइएको छ । अवस्थिति र कलात्मकता, पाउनाको आथित्यता, स्वादिष्ट परिकारहरुका कारण बसेरा विशिष्ठ बन्न पुगेको छ । यस होटलमा हेरिटेज डिलक्स रुप, हेरिटेज सुपर डिलक्स रुम, हेरिटेज स्विट रुम, रोयल स्विट गरी ६० वटा रुम रहेको छ । बसेरामा बेस क्याम्प क्याफे, भान्सा, द–मन्त्र क्याफे, द–मन्त्र बार गरी तीन वटा रेस्टुरेन्ट र डाइनिङको सुविधा पनि छ ।
वर्णबास म्युजियम होटलः
बालुवाटारस्थित ‘वर्णबास म्युजियम होटल’ साँसद समेत रहेका राजेन्द्र बजगाइँले सञ्चालनमा ल्याएका हुन् । उक्त होटलले सिंगो नेपाल झल्काइने जनाएको छ । बर्णबास होटलले काठमाडौंको नेवारी जीवनशैली, तराईको जीवनशैली, पहाडको जीवशैली र हिमाली जीवनशैलीको स्वाद चखाउने जनाउँदै होटलले तराई, पहाड, हिमाल गरी तीन प्रकारका रुमहरु रहेको जनाएको छ ।
परम्परागत कला, संस्कृति र मौलिकता भल्कने प्रकारका होटललाई बुटिक होटल भनिन्छ । पछिल्लो समय विदेशी पर्यटकहरुको रोजाईमा यस्ता होटल पर्ने गरेको होटल पर्यटन व्यवसायीहरुको दावी छ ।