पोखरामा सार्वजनिक यातायात व्यवसायीको आन्दोलन, स्थिति तनावग्रस्त, पत्रकार कुटिए

Advertisement

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरुले विभिन्न माग राखेर शुरु गरेको आन्दोलनका कारण पोखराको पृथ्वीचोक क्षेत्रमा तनावपूर्ण बनेको छ । रातो प्लेटका दुई पाँग्रे र चार पाँग्रे सवारी साधनले राईड सेयरिङ सेवा सञ्चालन गरेको बिरोधमा यातायात व्यवसायीहरु बिरोधमा उत्रिएका हुन् । 

उनीहरुले आईतवारसम्म आफ्नो माग पूरा नभए आन्दोलन शुरु गर्ने र सार्वजनिक यातायात नै ठप्प पार्ने चेतावनी दिएका थिए । यसै क्रममा राइड सेयरिङबिरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायातका चालक र सहचालकहरूले पोखराको पृथ्वीचोकमा ग २० प ३९७३ को स्कुटर तोडफोड गरेका छन् । 

Advertisement

आन्दोलित सार्वजनिक यातायात व्यवसायीले पोखरामा दुई पत्रकारमाथि समेत आक्रमण गरेका छन् । व्यवसायीको आन्दोलनको भिडियो खिचिरहेका पत्रकारद्वय विना थापा मगर र सुरज थापा मगरमाथि पोखराको पृथ्वीचोकमा आक्रमण भएको हो । 

अन्दोलनकारीले सुरज सवार ग२०प ३९७३ को स्कुटरसमेत तोडफोड गरेका छन् । पृथ्वीचोकमा पर्यटक बस चलाएको भन्दै बसमाथि तोडफोड गर्न लागेका बेला क्यामेराले दृश्य कैद गर्दैगर्दा आफूहरुमाथि आक्रमण भएको सञ्चारकर्मी सुरजले बताए । घटनापछि आक्रमण गर्ने बिरुद्ध जाहेरी लिएर पत्रकारहरू जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् । सञ्चारकर्मी थापाले आन्दोलन गर्ने क्रममा आन्दोलनकारीले पर्यटक बसमा आक्रमण गरेपछि रिपोर्टिङ गर्ने क्रममा आफूमाथि कुटपिट गरेको बताए । 

त्यस्तै कास्की प्रहरी प्रमुख मोहनकुमार थापाले पत्रकारलाई कुटपिट गर्ने कार्यमा संलग्न ४ जनालाई पक्राउ गरेको बताए । उनीहरुमाथि अनुसन्धान भइरहेको पनि उनले बताए । व्यवसायीहरुले शान्तिपूर्वक आन्दोलन गर्ने भने पनि हातपात र आक्रमणमा उत्रिएको बताउँदै थापाले नियन्त्रणमा लिइएका चार जनाले नै मादक पदार्थ सेवन गरेको पाइएको पनि बताए । 

यातायात व्यवसायीले निजी सवारी (दुई तथा चार पाङ्ग्रे)लाई सार्वजनिक सवारीसरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधिलाई तत्काल खारेज गर्नुपर्ने माग राखेका छन् । यस्तै यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरुको माग छ । 

Advertisement

Advertisement