नदी प्रदूषित गर्ने तीन उद्योगको गेटमा वीरगन्ज महानगरले थुपारिदियो फोहोर

Advertisement

वीरगन्ज । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गरेको भन्दै तीनवटा उद्योगको गेटमा फोहोर थुपारिदिएको छ ।

नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इन्डस्ट्रिज प्रालिको गेटमा फोहोर फालिदिएका हुन् ।

Advertisement

वीरगञ्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतीकात्मक कारबाहीस्वरुप आइतबार फोहरमैला खसालिदिएको बताए ।

‘उद्योगबाट निस्कने फोहरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेका थियौँ । तर उहाँहरूले मान्नुभएन, त्यसैले निर्देशनानुसार फोहरमैला थुपारिदिएको हो’, उनले भने ।

महानगरले यसअघि सिर्सिया नदीमा फोहरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएको महानगरको आरोप छ । महानगरले गत वैशाख ९ गते नदीमा फोहरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी समेत दिएको थियो ।

नगर प्रहरी प्रमुख भुसालले आज पनि नदी फोहरमैला गर्ने उद्योगमा भोलि पनि फोहोर फालिने बताए ।

Advertisement

Advertisement