धार्चे पहिरो : बेपत्ताको खोजी जारी

Advertisement

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको सोमबार बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर उनीहरू बेपत्ता भएका हुन् ।

आइतबार पनि दिनभर खोजी गरिएको थियो । आज बिहानैदेखि पुनः खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement

बेपत्ता भएकाको खोजीका निम्ति नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेको उनले बताए ।

‘पहिरोले घर तथा कृषि फार्म धेरै पुरिएकाले बेपत्ता भएकाको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ,’ उनले भने, ‘हिजो दिनभर खोजी गर्दा केही पत्ता लागेन । आज फेरि बिहानैबाट खोजीकार्य थालेका छौँ ।’

बेपत्ताको खोजीका निम्ति जेसीबी मेसिनको प्रयोग गरिएको उनले जानकारी दिए । आइतबार बिहान डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एउटा घर बगाउँदा उनीसहित ३५ वर्षीया कान्छी गुरुङ, ६० वर्षीय सुलाल कान्छा गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार बेपत्ता भएका हुन् ।


डाँडाबाट खसेको पहिरो बूढीगण्डकी नदीसम्म पुगेको छ । बेपत्ता भएकालाई नदीले बगाएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले आजदेखि बूढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा पनि उनीहरूको खोजी थालेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

Advertisement

Advertisement