काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी)को प्रयोग बढ्दै गएको बेला ठूला तारे होटलहरुले पनि यस्ता गाडीहरुको प्रयोग बढाउँदै लगेका छन् ।
होटलहरुले वातावरणमैत्री बन्न ईभीको प्रयोग बढाउँदै लगेको होटल एशोसियसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाह बताउँछन ।
विश्व नै ‘इको–टुरिजम’लाई बचाउनुपर्छ भनेर लागिरहेको बेला नेपालका होटलहरुले सो कुरालाई उपेक्षा गरेको गुनासो आइरहेको बेला शाहले आफूहरु सो कुरामा संवेदनशील रहेको र ईभीको प्रयोग गर्ने र वातावरणमैत्री बन्ने कार्यमा लाग्दै आएको दाबी गरे ।
शाहले ‘इको–टुरिजम’का बारेमा सरकारको ध्यानाकर्षण गराउँदै आएको बताउँदै भने, ‘हाम्रा ठूला होटलका किचेनहरु ग्यासमा आधारित छन् । हामीले अझै पनि ग्यासमा परिकारहरु बनाउनुपर्ने वातर्दै आएका छौं । त्यसलाई चाँहि बिजुलीमा रुपान्तरण गर्न चाहान्छौं,’ उनले भने ।
उनले थपे, ‘हाम्रो देशमा बिजुली उत्पादन बढेको छ । पहिलाको जस्तो अवस्था छैन् । बिजुली बाहिरबाट आयात गर्ने पेट्रोलियम पदार्थमा निर्भर नभएर बिजुलीमा जान चाहान्छौं एउटा, दोस्रो हाम्रा जति पनि पर्यटकलाई घुमाउने गाडीहरु छन्, ती ईभीमा जान चाहान्छौं । होटलमा प्रयोग गर्ने सवारी साधन ईभी नै होस भन्ने हाम्रो योजना हो ।’
तर यसपटकको मौद्रिक नीतिमा सरकारले पर्यटन क्षेत्रलाई उपेक्षा गरेको शाहले गुनासो गरे । उनले थपे, ‘सरकारले केही गर्ने होइन । हामीलाई ग्यासबाट बिजुलीमा रुपान्तरण नीतिगत सहजीकरण गरिदिए हुन्थ्यो । हामीलाई उद्योगको मान्यता दिएको छैन् । १६–१७ रुपियाँ पर युनिट बिजुलीको शूल्क तिर्छौं । उद्योग भएको भए हामीले ६–७ रुपियाँमा पाउने थियौं । त्यतिमा बिजुली पायो भने ग्यासलाई विस्थापित गरेर बिजुलीमा तुरुन्तै जान सकिन्छ ।’
अहिलेको बिद्युत महशुल दर ग्यासभन्दा पनि महंगो पर्ने भन्दै शाहले सरकार यो कुरामा उदासिन रहेको बताए । उनले धेरै तारे होटलले बिद्युतीय गाडी नै किनिसकेको र अब किन्दा विद्युतीय नै किन्ने बताउँदै पर्यटकहरु घुमफिर गर्ने गाडी विद्युतीय भयो भने त्यसले नेपाल र नेपालका शहरहरुको छवी राम्रो हुने बताए । शाहका अनुसार तीन तारेभन्दा ठूला होटल अधिकांहले ईभी राख्न थालिसकेको बताए ।