फ्रि भिसा, फ्रि टिकट हुन सक्दैन, अब वैदेशिक रोजगारीको लागत तोक्छौंः मन्त्री भण्डारी

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित गर्नको लागि आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागेको बताएका छन् । 

बिहीवार राजधानीमा भएको एक कार्यक्रममा उनले श्रम मन्त्रालय नेपालीलाई विदेश पठाउने मन्त्रालयको रुपमा मात्रै चिनिएको भन्दै आन्तरिक रोजगारीलाई व्यवस्थित र एकीकृत बनाउनको लागि आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागेको बताए । 

Advertisement

भण्डारीले सरकारले आन्तरिक रोजगार महाशाखा स्थापना गरी आन्तरिक रोजगारीमा भएका सबै सम्भावनालाई एकीकृत गरी एकद्वार प्रणालीले काम गर्न लागेको बताए । आन्तरिक रोजगार महाशाखा स्थापना गरी आन्तरिक रोजगारका सबै क्षेत्रलाई एक ठाउँमा ल्याएर काम गर्ने उनको भनाई छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै सबै कार्यक्रमलाई मर्ज गरेर आन्तरिक रोजगार महाशाखाले काम गर्ने भण्डारीले बताए । उनले ५७३ स्थानीय तहका रोजगार सेवा केन्द्रका माध्यमबाट तथ्याङक संकलन गर्ने लक्ष्य बनाएको उल्लेख गरे । भण्डारीले विदेश जाने श्रमिकले अग्रेजी भाषा अनिवार्य गर्दा सबैतिरबाट बिरोध भएपनि कार्यान्वयन गरेर जाने उल्लेख गरे । 

उनले जापान जानेले जापनिज भाषा, कोरिया जानेले कोरियन भाषा पढ्नुपर्ने भएकाले अन्य देश जानेले अंग्रेजी भाषा पढेर जाँदा ठगिने सम्भावना कम हुने बताए । मन्त्री भण्डारीले फ्रि भिसा, फ्रि टिकटमा कार्यान्वयनमा समस्या रहेको बताए । 

उनले भने, ‘श्रम मन्त्रालय नेपालीलाई विदेश पठाउने मन्त्रालयको रुपमा लिइन्छ । मन्त्रालयलाई ओएमएन गरेर रिस्टक्चर गर्दैछौं । सरकारले आन्तरिक रोजगार महाशाखा स्थापना गर्दैछांैं । आन्तरिक रोजगारीको लागि रहेका सबै सम्भावनालाई एकीकृत गरेर जोडेर एकद्वार प्रणालीले काम गर्न खोजिरहेका छौं । रिस्ट्रक्चरको लागि मन्त्रिपरिषद्मा जाँदैछ । आन्तरिक रोजगार महाशाखा भएपछि आन्तरिक रोजगारका सबै क्षेत्रलाई एक ठाउँमा ल्याउँछौं । प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै सबै कार्यक्रमलाई एक ठाउँमा ल्याउन खोजेका छौं ।’ 

भण्डारीले वैदेशिक रोजगारीमा जाँदा श्रमिक लैजानेले कम्पनीले वा श्रमिक आफैँले लागत व्यहोर्नुपर्ने अवस्था रहेकाले फ्रि भिसा, फ्रि टिकट हुन नसक्ने बताए । उनले अब सरकारले वैदेशिक रोजगारमा जानको लागि एक जना श्रमिकले कति सेवा शुल्क तिर्नुपर्छ भन्ने यकिन लागत तोक्ने गृहकार्यमा लागेको जानकारी दिए । 

Advertisement