आन्तरिक हवाई भाडादरमा एकरुपता कायम गर्ने विषय प्राथमिकतामा राखेका छौंः पर्यटनमन्त्री

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा विकास गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अगाडि बढाइएको बताएका छन् । 

बिहीबार राष्ट्रियसभा बैठकमा उनले नेपाल पर्यटन बोर्डबाट सय वटा पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटन विभागबाट यी गन्तव्यहरुमा पूर्वाधार निर्माणको काम भइरहेको पनि बताए । यस वर्ष १६ लाख पर्यटहरु भित्राउने लक्ष्य राखिएको स्मरण गराउँदै पाण्डेले नेपालको राष्ट्रिय पर्यटन रणनीति गुरुयोजना (२०१६–२५)को आधारमा पर्यटकीय गन्तव्यहरुको 
विकास विस्तार तथा पहिचान, पदमार्गहरुको निर्माण, पर्यटकीय उपजहरुको बारेमा स्वदेश तथा विदेशमा पर्यटन प्रवर्द्धन कार्यक्रमहरु निरन्तर हुँदै दावी गरे । 

Advertisement

उनले खप्तड विकास क्षेत्र कोष स्थापना सम्बन्धमा छलफल भइरहेको बताए । पाण्डेले भने, ‘पर्यटन क्षेत्रको सम्भाव्यताप्रति हामी सबै बिदितै छौं । यस क्षेत्रमा बजेट अझै पर्याप्त हुन नसकेको सत्य हो । पर्यटन रणनीतिक योजना र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याई यस वर्ष १६ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको छ । इको हिल टुरिजम लगायतका कार्यक्रमहरु यो वर्षको बजेटमा समावेश गरिएको छ ।’ 

भारत र चीनको पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट ‘रोड सो’ लगायतका प्रचारप्रसार गर्ने कार्यक्रम कार्यान्वयन गरिएको उनले बताए । मन्त्री पाण्डेले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न बजेट विनियोजन गरिएको छ भन्दै पर्यटन क्षेत्रको दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यलाई उच्च महत्व र प्राथमिकता दिइएको बताए । 

आन्तरिक हवाई भाडादरमा एकरुपता कायम गर्ने विषय महत्वपुर्ण हो भन्दै उनले यो विषयलाई सरकारले प्राथमिकता दिएको बताए । 

Advertisement

Advertisement