काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्सेर राणाले देशलाई सही मार्गमा ल्याउन राजसंस्थावादी, हिन्दूवादी र राष्ट्रवादीहरु एक ठाउँ उभिनुपर्ने बताएका छन् ।
आफ्नो पार्टीको कार्यक्रममा शनिबार उनले भने, ‘देशको समग्र अवस्था बाटो भुलेको यात्री जस्तो भएको छ । विद्यमान सम्पूर्ण कमी कमजोरी अन्त्य गरेर अघि बढ्न राजावादी, हिन्दूवादी र राष्ट्रवादीको एकता आवश्यक भएको छ । देश र समाजलाई संकटमुक्त गर्न राप्रपा दत्तचित्त भएर अघि बढेको छ, हामी लक्ष्य प्राप्त नगरेसम्म विश्राम लिँदैनौं ।’
स्थानीय तहको बल र विगत आन्दोलनको अनुभवका आधारमा राप्रपा यस पटक पूर्ण तयारीका साथ सडकमा उत्रने राणाले प्रष्ट गरे । आन्दोलनकै बाटोबाट भ्रष्ट नेताहरुलाई विदा दिने उनले उद्घोष गरे ।
सो पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले देशको यथार्थ अवस्था अनुसार शासन नचलेको हुनाले देश र समाज ओरालो लागेको बताए ।
उनले भने, ‘राजसंस्था र हिन्दुत्व नेपाली समाजको विकास र निरन्तरताका लागि अपरिहार्य छन्, अन्योन्याश्रित छन् । हिन्दु, वौद्ध र किरात सभ्यतामा आधारित नेपाल समाजमा राजसंस्था र सनातनसापेक्ष हिन्दु अधिराज्यको उपादेयता नजरअन्दाज गर्न सकिन्न । यसै मान्यता केन्द्रमा राखेर संविधान संशोधन गर्नु पर्दछ ।’
सबै शक्ति र विचार समेटेर शान्ति, सुविकास कायम गर्न राप्रपाले नवीन समझदारीको प्रस्तावना अघि सारेको लावतनीले बताए ।