काठमाडौंमा असोज १० देखि 'नेपाल हस्पिटालिटी कन्क्लेभ' हुँदै

Advertisement

काठमाडौं । नेपालको आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धनमा टेवा दिने उदेश्यका साथ यहि असोज १० गतेदेखि काठमाडौंमा नेपाल हस्पिटालिटी कन्क्लेभ २०२४ को आयोजना हुने भएको छ । 

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल हस्पिटालिटी कन्क्लेभ २०२४ को आयोजना हुने बारे होटल संघ नेपालका अध्यक्ष विनायक शाहले जानकारी दिएका हुन् । 

Advertisement

काठमाडौं बुढानीलकण्डस्थित लेमोन ट्रि प्रिमियर होटलमा आयोजना हुने यस कार्यक्रमले होटल संचालक, सम्भावित लगानीकर्ता, नीति–निर्माता, नियामक, विज्ञ, नेपालमा संचालित विभिन्न राष्ट्रिय एवं अन्तराष्ट्रिय होटलहरुको नेतृत्ववर्ग, सेवाप्रदायक लगायत यस क्षेत्रसँग सम्बन्धित करिव २०० जनाभन्दा बढी सरोकारवाला तथा सहभागीहरुलाई एकै छानामुनी ल्याउने जनाएको छ । 

दुई दिनसम्म चल्ने यस कार्यक्रमको क्रममा नेपालमा होटलहरुको वर्तमान अवस्था, समस्या एवं चुनौतीहरु, नयाँ चालचलन एवं अभ्यासहरु, नवप्रवर्तन, सहकार्य, आईटी प्रविधि, डिजिटल मार्केटिङ्ग तथा साझेदारी लगायत आतिथ्यता क्षेत्रसँग सम्बन्धित विविध विषयहरुमा घनिभूत छलफल हुनेछ ।

होटल एसोसियसन नेपालसँगको सहकार्यमा बिनस्टक एसिया नेपाल, वाटरकम र नेपाल ट्राभलरको साझदारीमा आयोजना हुन गइरहेको दोश्रो संस्करणको कन्क्लेभले होटल क्षेत्रसँग सम्बन्धीत ज्ञान, शिप, रणनीति तथा विचारहरुको आदानप्रदानको लागि साझा मञ्च प्रदान गर्ने हुनाले पनि होटल तथा आतिथ्यता व्यवसाय एवं समग्र उधोगको बारेमा जान्न, वुझ्न र सिक्न चाहने जो कोहीको लागि पनि कार्यक्रम उपलब्धीमुलक हुने आयोजनकले विश्वास लिएको छ ।

नेपाल सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्ष र बिसं २०८० को दशकलाई ‘नेपाल पर्यटन दशक’  घोषणा गरेको परिप्रेक्षमा आयोजित हुन गइरहेको यस कन्क्लेभको महत्व अझ थप भएको पनि आयोजनकले जनाएको छ । विनस्टक एसिया नेपालको सहसंस्थापक तथा नेपाल हस्पिटालिटी कन्क्लेभको प्रमुख संयोजक सुबोध थापाले नेपालको आतिथ्यता क्षेत्रको भविष्यको मार्ग तय गर्नको लागि यो कार्यक्रम एक रणनीतिक मञ्च हुनेमा विश्वस्त रहेको बताए । 

नेपालको होटल क्षेत्रमा पछिल्लो समय आइरहेको बृहतस्तरको लगानी, दिगो अभ्यासहरुको बढ्दो आवश्यकता र यस क्षेत्रभित्र तिव्र बन्दै गइरहेको प्रतिस्पर्धाको पृष्ठभूमिमा यस कन्क्लेभको अझ महत्वपूर्ण भएको उनले बताए । 

कन्क्लेभले नेपालको आतिथ्यता क्षेत्रले हाल भोग्दै आएको समस्याहरुको निवारण गरी यसलाई थप मजबुत एवं संस्थागत बनाउन अवलम्बन गरिनुपर्ने उपाय तथा चालिनुपर्ने कदमहरुमाथि जोड दिँदै सरकारलाई विभिन्न सुझावहरुसहितको श्वेतपत्र पनि बुझाउने होटल एसोसियसन नेपालका अध्यक्ष विनायक शाहले बताए । 

कन्क्लेभको क्रमका आथित्यता क्षेत्रबारे लामो अवधिको बृहत ज्ञान तथा अनुभव भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रस्तुतकर्ताहरुले यस क्षेत्रसँग सम्बन्धित विविध विषयहरुमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
 

Advertisement

Advertisement