काठमाडौं । नेपालमा विदेशी पर्यटकबाट हुने आम्दानी हालसम्मकै उच्च देखिएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा विदेशी पर्यटकबाट ८२ अर्ब ५५ करोड आमदानी भएको हो, जुन वार्षिक रुपमा हालसम्मकै उच्च भएको नेपाल राष्ट्र बैंकको तथ्यांकबाट देखिन्छ ।
विदेशीय पर्यटकले लिने विदेशी सटही सुविधा लगायतबाट नेपालमा विदेशी पर्यटकबाट हुने आम्दानी देखिन्छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आव २०७५–७६ मा विदेशी पर्यटकबाट ७३ अर्ब ५७ करोड रुपियाँ आम्दानी भएको थियो जुन कोरोना महामारी कालभन्दा अघिको समय थियो ।
आव २०७६–७७ को चैतदेखि कोरोना नियन्त्रण गर्न सरकारले पटक पटक लकडाउन र निषेधाज्ञा लगायो । विश्वव्यापीरुपमा नै फैलिएको कोरोना महामारीले नेपालसहित विश्वभर पर्यटक आवागमन घटेको थियो । पर्यटन आगमन घटेसँगै उनीहरुबाट हुने आम्दानी पनि खस्किएको थियो ।
कोरोना महामारीको प्रभाव कम हुँदै गएसँगै अहिले पर्यटकीय गतिविधिले लय लिएको छ । गत आवमा पर्यटकबाट हुने आम्दानीले नयाँ रकर्ड बनाएको छ । आव २०७६–७७, २०७७–७८ र २०७८–७९ मा कोरोना प्रभावित वर्ष रहेकोले उक्त वर्षहरुमा विदेशी पर्यटकहरुबाट हुने आम्दानीमा कम रह्यो ।
आव २०७३–७४ मा विदेशी पर्यटकबाट ५८ अर्ब ५३ करोड रुपियाँ आम्दानीभएको थियो । त्यस्तै २०७४–७५ मा ६७ अर्ब नौ करोड रुपियाँ, २०७५–७६ मा ७३ अर्ब ५७ करोड रुपियाँ, २०७६–७७ मा ६० अर्ब ८९ करोड रुपियाँँ, २०७७–७८ मा सात अर्ब २७ करोड रुपियाँ, २०७८–८० मा ३२ अर्ब ४५ करोड रुपियाँ र २०८०–८१ मा आएर ८२ अर्ब ३३ करोड रुपियाँ विदेशी पर्यटकबाट नेपालमा आम्दानीभएको थियो ।
नेपाल राष्ट्र बैंकको तथ्याङले २०७३–७४ देखि गत आर्थिक वर्ष २०८०–८१ मा विदेशी पर्यटकबाट ८२ अर्ब ५५ करोड आम्दानीभएको छ । ३३।८२६४ प्रतिशतले वृद्धि भएको छ । २०७३–७४ मा विदेशी पर्यटकबाट भएको आम्दानी१४।६२४९८ प्रतिशत रहेको थियो ।
कुन वर्ष कति आम्दानी (अर्बमा)
वर्ष आम्दानी
२०८०–८१ ८२.३३
२०७९–८० ६१.५२
२०७८–८० ३२.४५
२०७७–७८ ७.२७
२०७६–७७ ६०.८९
२०७५–७६ ७३.५७
२०७४–७५ ६७.०९
२०७३–७४ ५८.५३
२०७२–७३ ४१.७७
२०७१–७२ ५३.४३
तर, यो विदेशी मुद्राको आम्दानी सन्तोषजनक नरहेको पर्यटन व्यवसायीहरुको तर्क छ । सरकारले पर्यटकबाट हुने आम्दानी बढाउन धेरैभन्दा धेरै पर्यटन प्रवर्द्धन गर्ने र पर्यटकीय गन्तव्यहरुको पहिचान गरी प्रोत्साहित गर्नुपर्ने नेपाल पर्वतारोहण संघका प्रमुख सल्लाहकार तथा पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा बताउँछन् । सरकारले भएको उत्पादनको पनि प्रवर्द्धन गर्ने र नयाँँ नयाँ गतिविधिको पहिचान गरेर विश्व बजारमा प्रवर्द्धन गर्न जरुरी रहेको उनले बताए । शेर्पाले स्काइडाइभ, विन्टर आइस स्केटिङ, विन्टर स्की, विन्टर स्पोर्टस जस्ता साहसिक खेलहरुलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।
होटल संघ नेपालका अध्यक्ष बिनायक शाहले नेपालसँग विदेशी पर्यटकहरु धान्न सक्ने होटलहरु र सेवा दिनसक्ने क्षमता धेरै विकास भइसकेकाले अहिलेको आम्दानी निकै न्यून रहेको बताए । नेपालमा धनाढ्य पर्यटकहरु ल्याउन सकिने संभावना धेरै रहेकाले त्यसतर्फ पनि सरकारले सोच्नुपर्ने उनले बताए । शाहले पर्यटन क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको उत्पादनमा पनि सरकारले ध्यान दिएर लाग्न जरुरी रहेको बताए ।