लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता

Advertisement

दमौली । बिजुलीको लाइन काटेपछि उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर दुई करोड ५० लाखभन्दा बढी बक्यौता संकलन गरेको छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लाइन काटेर दुई करोड ६८ लाख ४५ हजार ७०० बक्यौता संकलन गरेको हो । 

केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार एक हजार ४३६ जना ग्राहकको लाइन काटिएकामा एक हजार २७३ ग्राहकले बक्यौताबापतको रकम बुझाएका छन् । एक हजार ४३६ ग्राहकबाट रु तीन करोड ५० लाख ५६ हजार ६७४ बक्यौता उठ्नुपर्ने थियो तर, ७६.५७ प्रतिशत बक्यौता असुली भएको छ । 

Advertisement

आर्थिक वर्ष २०७९/८० मा कार्यालयले ९१८ ग्राहकको लाइन काटेकामा एक करोड ८४ लाख ६५ हजार ४५२ बक्यौता संकलन गरेको थियो । उक्त आर्थिक वर्षमा ७८६ ग्राहकको लाइन बक्यौता रकम तिरेपछि पुनः जडान गरिएको थियो । त्यतिबेला रु तीन करोड ६४ लाख ५७ हजार ६८२ बक्यौता उठ्नुपर्ने थियो । 

केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा रु ५३ करोड ९४ लाख ३१ हजार ६१३ बराबरको विद्युत बिक्री गरेको छ । रेग्मीका अनुसार त्यस अवधिमा रु ५४ करोड २० लाख ६० हजार २७८ विद्युत रकम संकलन भएको थियो । केन्द्रले त्यस वर्ष सात दशमलव ९२ प्रतिशत विद्युत् चुहावट नियन्त्रणको लक्ष्य राखेकामा १२ दशमलव ७९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको थियो ।

विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क बदली, नांगो तार हटाइ केबल विस्तार, कन्डक्टर साइज स्तरोन्नति, ट्रान्सफर्मर लोड सेन्टर थपलगायत काम गरेको प्रमुख रेग्मीले बताए ।

Advertisement

Advertisement