काठमाडौं । नेपालमा पर्यटन प्रवर्द्धन गर्न सडकसहितका भौतिक पूर्वाधारको पर्याप्त र गुणस्तरीय विकास नहुँदा त्यसमा बाध पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव केदारबहादुर अधिकारी बताउँछन् ।
कर्पोरेट नेपालसँगको कुराकानीमा उनले पर्यटकीय क्षेत्रमा सडकको पहुँच पर्याप्त नभएको, भएका सडक पनि गुणस्तरीय नभएको र हवाई टिकट पनि महँगो भएकोमा असन्तुष्टि जनाए । यस्ता कुराले थप पर्यटकहरु आर्कषक हुन नसकेको अधिकारीको भनाई छ ।
नेपाल सवारी साधनको दुर्घटना हुने क्रम बढ्दो छ । हवाई दुर्घटना पनि पटक पटक हुने गरेका छन् । यस्ता घट्नाले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश पुगेको पूर्वसचिव अधिकारी बताउँछन् । उनले यसले पर्यटक नेपालमा आउनबाट रोक्नसक्ने भन्दै दुर्घटना न्यूनीकरणका लागि सरकार बढी नै संवेदनशील हुनुपर्ने अवस्था आएको बताए । गत साता मात्रै पोखराबाट काठमाडौं आइरहेको भारतीय पर्यटकहरुको बस मर्याङ्दी नदीमा खस्दा ठूलो मानवीय क्षति भएको थियो ।
अधिकारीले कुनै न कुनै प्रकारको ‘कनेक्टिभिटि’मा सुधार नगरिकन नेपालमा पर्यटक आगमन वृद्धि गराउन नसकिने भन्दै भने, ‘हामीसँग गन्तव्य छ भनेर मात्र पर्यटक आउँदैन । हाम्रो जतिसुकै आतिथ्यसत्कार क्षेत्र राम्रो छ भनेर पनि हुँदैन । हामीले बाटोहरु राम्रो निर्माण गर्नपर्छ । पर्यटकीय गन्तव्यहरुमा राम्रो सेवा, सुविधाहरु बढाउनुपर्यो । त्यसको लागि पनि सरकारले सहजीकरण गरिदिनुपयो ।’
नेपालका थुप्रै पर्यटकीय क्षेत्रहरुमा अहिले पनि पहुँच पुगन नसकेको, रारा, फोक्सुण्डो, खप्तड जस्ता पर्यटकीय क्षेत्र बेच्न नसकिएको बताउँदै उनले थपे, ‘जहाँ पर्यटनको सम्भाव्यता छ, त्यहाँ काठमाडौंदेखि पुगन गाह्रो छ । हवाई भाडा महँगो छ । सडक यातायातको सहज र छिटोछरितो सुविधा छैन् । त्यो हिसाबले पनि हामीले हवाई भाडामा पनि के कसरी सस्तो बनाउने ? त्यसमा ध्यान दिन जरुरी छ ।’
सरकारले पूर्वाधार निर्माण गरिदिए विकट र दुर्गम क्षेत्रका पर्यटकीय क्षेत्रमा पुग्न सकिन्छ भन्दै अधिकारीले कतिपय ठाउँमा हवाई सेवा पुगे पनि नियमितता नरहेको, मुख्य कुरा हवाई भाडा निकै महंगो रहेको बताए । सडक पूर्वाधारमा तत्काल ठूलो लगानी गर्न नसके पनि हवाई यातायातको आन्तरिक कनेक्टिभिटिमा लगानी बढाउने वातावरण सरकारले बनाउनुपर्ने उनले बताए ।
नेपालमा सन् २०१९ मा १२ लाख पर्यटक भित्रिएकोमा २०२० मा २० लाख पर्यटक भित्राउने भनेर नेपाल भ्रमण घोषण गरेको, तर कोरोना महामारी सुरु भएकाले त्यो योजना लथालिङ्ग भएको स्मरण गर्दै पूर्वसचिव अधिकारीले महामारीपछि पर्यटन क्षेत्र निकै प्रभावित भएको बताए । यद्यपि अहिले भने पर्यटक आगमनमा निकै सुधार आएकोमा अधिकारीले खुशी व्यक्त गरे ।
उनले भने, ‘तर नेपालले विभिन्न रणनीतिहरुबाट ३५ लाखसम्म पर्यटक भित्राउने लक्ष्य राखेको थियो । त्यसको आधारमा थप दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल बन्छ । तर कोरोनाले त्यतातिर ध्यान तान्न सकेन । यद्यपि अब सरकारले अहिलेको पर्यटक आगमनको संख्यामा चुप लागेर बसेर हुँदैन । निजी क्षेत्रको समेत पहलमा यो संख्या बढाएर लैजानुपर्छ ।’
पर्यटक आगमन बढाउन पहिलो उपाय भनेको नेपालका वायुसेवा कम्पनीहरुलाई सहयोग गर्ने, नेपाल वायुसेवा निगमको लागि जहाजहरु थप्ने हो भन्दै उनले निगमले दुईदेखि तीन वटा जहाज थप्यो भने करिब ४–५ लाख पर्यटक वार्षिक बढाउन सकिने बताए । हिमालय एयरलाइन्सले उडान बढाउन अनुमति माग्यो भने सरकारले हवाई रुटमा सहजीकरण गरिदिनुपर्ने अधिकारीले बताए ।
उनले भने, ‘विदेशी एयरलाइन्सहरुलाई पनि छुट सुविधा दिएर नयाँ विमानस्थलमा समेत उडानको वातावरण सरकारले बनाउनुपर्छ । नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरुमा छुट सुविधा दिनसक्यो भने ती विमानस्थल पनि चल्छन् । अर्को कुरा त्रिभुवन विमानस्थललाई पनि व्यवस्थित बनाउन सक्छौं । त्यो काम नगरि हामीले पर्यटकको संख्यामा वृद्धि गर्न सक्दैनौं ।’
अधिकारीले सडक सञ्जाल सुधार गरी यसलाई सुरक्षित बनाउन जरुरी रहेको बताउँदै अहिलेको सडकको अवस्थाले एक पटक आएका पर्यटकलाई दोस्रो पटक आउन रोक्ने बताए । नेपाल झण्डै तीन अर्ब जनसंख्या रहेका दुई मुलुकको बीचमा रहेको, ती मुलुकबाट बार्षिक ६० करोड मानिस बाहिर भ्रमण गर्न रुचाउने गरेको तथ्य प्रस्तुत गर्दै उनले यात्रा गर्न चाहने त्यो जनसंख्याबाट ६० लाख मात्रै नेपाल ल्याउन सकियो भने पनि नेपाललाई सम्पन्न गर्न सकिने बताए ।
उनले भारत र चीनसँग हवाई रुट मिलाउन कसरत गर्ने हो भने राम्रो संख्यामा पर्यटक आउनसक्ने बताए । छ लाख मात्रै पर्यटक रहेको तिब्बतको लास्सामा करोडमा पर्यटक आउने गरेको उदाहरण अधिकारीले दिए । यो सफलता कनेक्टिभिटिले नै संभव भएको बताए ।