उपसभामुखलाई राजीनामा दिन सत्ताधारीहरुको सुझाव, नदिए महाभियोग, रास्वपाले दियो चेतावनी

Advertisement

काठमाडौं । सत्ताधारी दलहरुले उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिन सुझाव दिएका छन् । उनीहरुले राजीनामा नदिए महाभियोग लगाएर हटाउने संकेत दिएका छन् । 

सोमबार साँझ प्रधानमन्त्री निवासमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा रानामगरको विषयले महत्व पाएको थियो । उपसभामुखविरुद्ध परेको उजुरी गम्भीर प्रकृतिको रहेको भन्दै बैठकमा सहभागी नेताहरुले उनलाई हटाउने विषयमा छलफल भएको बताएका छन् । उक्त पद नेपाली कांग्रेसले लिने तयारी गरेको छ । सभामुख नेकपा एमालेको भएकाले उपसभामुख कांग्रेसले लिने तयारी गरेको छ । 

Advertisement

राज्य व्यवस्था तथा सुशासन समितिमा उपसभामुख रानामगरविरुद्ध उजुरी पनि दर्ता गरिएको छ । उनले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । उक्त विषयलाई लिएर सत्ताधारी दलहरुले रानाको आलोचना गर्दै आएका छन् । रानाले पत्र लेखे पनि अमेरिका जान भने उनीहरुले पाएका थिएनन् । 

महाभियोग नलगाउन रास्वपाको चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का साँसद  सन्तोष परियारले उपसभामुख रानालाई महाभियोग लगाउने तयारीप्रति आपत्ति जनाउँदै त्यस्तो नगर्न चेतावनी दिएका छन् । 

संसदमा उनले राज्य प्रजातन्त्रमाथि आक्रमण गर्दैछ भन्दै ठूला दलहरु बसेर उपसभामुखलाई महाभियोग लगाउने कुरा मान्य हुनेछैन् भने । शासकहरु भ्रष्ट भएपछि प्रजातन्त्र असफल हुने बताउँदै परियारले यस्तो भ्रष्ट शासकले राज्यका सबै अंग र निकायलाई निकम्मा बनाउने बताए । 

संवैधानिक परिषदमा आफ्नो बहुमत नपुग्ने नाममा सत्तारुढ कांग्रेसले उपसभामुखलाई हटाउन खोजेको उनले बताए । परियारले आफूलाई प्रजातन्त्रको मसिहा भन्ने पार्टी नै गुपचुप यस्तो कार्यमा लागेकोमा आलोचना गरे । 

Advertisement