म राजदूत भएमा साँसदहरुलाई अमेरिकी घुमाउन पहल गर्छुः रेग्मी

Advertisement

काठमाठौं । संयुक्त राज्य अमेरिकाका लागि प्रश्तावित राजदूत लोकदर्शन रेग्मीले आफू राजदूत नियुक्त भएमा नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन पहल गर्ने बताएका छन् । 

बिहीवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रश्तुत गर्दै उनले नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमणका लागि पहल गर्ने बताए । रेग्मीले द्विपक्षीय सम्बन्धलाई राम्रो बनाउनका लागि उच्च तहको राजनीतिक भ्रमणको आदान–प्रदान आवश्यक रहेको भन्दै त्यसका निम्ति आफूले काम गर्ने बताए । 

Advertisement

हालसम्म नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण नभएको अवस्थामा भ्रमण गराएर नेपालको संसदमा सम्बोधन गराउन सकिएमा नेपालको छवि, विश्वसनीयता र समृद्धिको ढोका खोल्न योगदान पुग्ने बताए । उनले विगतमा भएका प्रतिवद्धताहरु नवीकरणका लागि र द्विपक्षीय हितका नयाँ विषयहरु अगाडी बढाउन पनि भ्रमणको महत्व रहेको उल्लेख गरे । 

रेग्मीले आफूले आर्थिक कुटनीतिमा पनि ध्यान पुर्याउने बताए । अमेरिकी अर्थतन्त्रलाई नेपालको हितमा अधिकतम् प्रयोग गर्नका लागि आफूलाई केन्द्रित गर्ने बताउँदै रेग्मीले दुई देशबीच संसदीय तहमा पनि भ्रमण–आदान प्रदान गराउन पहल गर्ने बताए । 

रेग्मीले भने,  ‘संयुक्त राज्य अमेरिकाको विश्वास, सद्भाव र सहकार्य दुईटैलाई बढाएर लिएर जानका लागि, अझ गहिरो बनाउनका लागि, अझ सुदृढ र प्रभावकारी बनाउनका लागि मैले मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रयास गर्नेछु । द्विपक्षिय सम्बन्धलाई राम्रो बनाउनको लागि उच्चस्तरका भ्रमणहरुका आदान–प्रदानहरु, प्राविधिकहरुका बिचको आदान–प्रदानहरु विभिन्न तहका आदान–प्रदानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रो अनुभव छ । र प्रतिवद्धताहरुलाई नविकरण गर्नका लागि र द्विपक्षिय हितका नयाँ विषयहरुमा प्रवेश गर्नका लागि यस्ता भ्रमणहरुको शिखर महत्व रहने गर्दछ । अहिलेसम्म अमेरिकी राष्ट्रपतिहरुबाट नेपालको भ्रमण र नेपालको संसदलाई सम्बोधन गर्ने एउटा सन्दर्भ हामीले साकार पार्न सक्यौँ भने नेपालको छवि, नेपालको विश्वसनीयता र नेपालको अझ समृद्धिको ढोका मार्गप्रशस्त गर्नका लागि योगदान पुग्छ कि ?’

उनले थपे, ‘अमेरिकाको राष्ट्रपतिलाई हाम्रो देशमा भ्रमण गराउन सक्दा राम्रो हुन्छ कि भन्ने मलाइ लागेको छ । त्यसको लागि ग्राउन्ड वर्क गर्नका लागि म आफू उत्सुक छु । संसदको तहबाट पनि दुई देशको भ्रमणको आदान–प्रदान गराउनुपर्छ । अमेरिकाको अर्थतन्त्रलाई हाम्रो अर्थतन्त्रसँग जोडेर हाम्रो हितमा अधिकतम मात्रामा स्रोत, साधन परिचालन गर्नको लागि मैले आफूलाई केन्द्रित गर्ने काममा लाग्ने विश्वास दिलाउन चाहन्छु ।’

रेग्मीले अमेरिकास्थित नेपाली दूताबासलाई ‘स्मार्ट दूतावास’ बनाउने बताउँदै दूतावासको क्षमता विकास गर्दै रेकर्ड सिस्टमलाई व्यवस्थित बनाउने बताए । उनले गैरआवासीय नेपालीहरुको हितमा खटेर काम गर्ने बताए । 

Advertisement