शरद ऋतुमा ७ हिमाल आरोहणका लागि ३२९ ले लिए अनुमति, ३ करोड ७४ लाख राजश्व संकलन
फाइल तस्बिर

Advertisement

काठमाडौं । आरोहीहरुले शरद ऋतुका लागि मनासलुसहित ७ वटा हिमालका लागि पमिट (आरोहण अनुमति) लिएका छन् । विश्वको ८औं अग्लो हिमाल मनास्लुको लागि मात्रै २ सय ९० जनाले आरोहण अनुमति लिएका छन् । 

पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार शरद ऋतुका लागि मनास्लु, पुथा हिउचुली, अन्नपूर्ण–४, ठकर गो इस्ट, धौलागिरी, फुङ्गी, कुम्भकर्ण गरी सात वटा हिमालहरुको लागि आरोहण अनुमति दिइएको छ । ती हिमाल आरोहणको लागि २ सय ४६ जना पुरुष र ८३ जना महिला गरी ३ सय २९ जनाले आरोहणको लागि अनुमति लिएको उनले जानकारी दिए । 

Advertisement

उनले भने, ‘७ वटा हिमाल आरोहणको लागि ५२ वटा देशका नागरिकहरुले आरोहण अनुमति लिएका हुन् । चीनका नागरिक, अमेरिका, रुस, बेलायत, जापान, जर्मनी, काजाकिस्तान, भारतबाट हिमाल आरोहण अनुमति लिने धेरै रहेका छन् ।’

३ सय २९ जनाबाट सरकारले ३ करोड ७४ लाख ४३ हजार ९ सय ५​ रुपियाँ संकलन गरेको छ । गत वर्षको सिजनमा मनास्लु हिमाल आरोहणका लागि ३०१ जनाले आरोहण अनुमति लिएका थिए । 

यस सिजनको लागि मनास्लु हिमालको चुचुरोसम्मको लागि रोप फिक्सिङको जिम्मेवारी सेभेन समिट ट्रेक कम्पनीले पाएको छ । एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपाल (इओए–नेपाल) अन्तर्गत मनास्लु हिमालमा रोप फिक्सिङ (डोरी टाग्ने) को जिम्मेवारी शरद ऋतुको लागि दिएको हो । 

मनास्लु हिमालको चुचुरोसम्म रोप फिक्सिङको नेतृत्व (लिड) सेभेन समिट ट्रेक कम्पनीका एक्सपिडिसन म्यानेजर छाङ दावा शेर्पाले गर्ने छन् । मनास्लु हिमालमा रोप फिक्सिङ टोलीको लिडर छाङ दावा शेर्पा, को–लिडर तेङ्गिङ ग्याल्जेन शेर्पा, पेम्बा टासी शेर्पा, दावा शेर्पा, पाम दोर्जी शेर्पा, नामगेल दोर्जी तामाङ र आङ्देम्बा शेर्पा, रहेका सेभेन समिट ट्रेक कम्पनीले जनाएको छ । 

रोप फिक्सिङ टोलीले डोरी टाग्ने सुरु गरिसकेको र हाल क्याम्प–२ सम्मको डोरी टागिसकेको कम्पनीले जनाएको छ । आज टोली क्याम्प–२ बाट क्याम्प–३ सम्मको रोप फिक्सिङको लागि हिडि सकेको र भोलि सम्म क्याम्प–३ सम्ममा डोरी टागि सक्ने कम्पनीले जानकारी दिए । 
 

Advertisement