निर्माण सम्पन्न नहुँदै नयाँ धरहरा सर्वसाधारणका लागि पुनः खुल्ला

Advertisement

काठमाडौं । विनाशकारी भूकम्पपछि नयाँ निर्माण गरिएको धरहरा पुनः सर्वसाधारणका लागि खुल्ला गरिएको छ । केपी ओली नेतृत्वको सरकारले निर्माण सम्पन्न नहुँदै पुनः खुल्ला गरेको हो । 

यसअघि पनि सरकारको नेतृत्व गर्दा ओलीले नै धराहरा उद्घाटन गरेपछि विपक्षीहरुले चर्को आलोचना गरेका थिए । साथै, सरकार परिवर्तन भएपछि सर्वसाधारणलाई रोक्का गरेर निर्माण कार्य अघि बढाइएको थियो । निर्माण कार्य अझै पनि नसक्किएको भन्दै विपक्षीहरुले निर्माण नसक्किँदै ओलीले लोकप्रियताका लागि फेरि पनि धरहरा खुल्ला गरेको बताएका छन् । 

Advertisement

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ढलेको धरहराको छेउमा उस्तै धरहरा बनेपछि सरकारले आज (बिहीबार)देखि पुनः सार्वसाधारणलाई पनि प्रवेश खुल्ला गरिएको छ । यही गएको भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले आजदेखि धरहरा खुला गर्ने निर्णय गरेको थियो । 

तत्कालका लागि धरहरा चढ्न निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागको व्यवस्थापनमा सर्वसाधारणले धरहरा चढ्न पाउनेछन् । 

विभागका अधिकृत वीरसिंह भण्डारीले धरहरा हेर्नेहरुको घुइँचो लागेकाले व्यवस्थापनको काममा चाप परेको पनि बताए । धरहरा हेर्न जानका लागि आफ्नो परिचय खुल्ने नागरिकता, मतदाता परिचय पत्र, चालक अनुमति पत्र, राहदानीको फोटोकपी चाहिने व्यवस्था गरिएको छ । त्यस्ता कागजाजको सक्कल प्रति नभए मोबाइलमा फोटो खिचेर ल्याउँदा पनि चढ्न पाइने जनाइएको छ । 

धरहरा अपांगतामैत्री भएकाले अपांगहरुलाई पनि चढ्न सहज र सजिलो हुने अपेक्षा गरिएको छ । दुई वर्षमा सक्ने गरी २०७५ साल कार्तिकमा धरहरा निर्माणको काम शुरु गरिएको थियो । आधुनिक शैलीमा निर्माण भएको धरहराका लागि जमिन अपुग भएपछि सरकारले गोस्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गरेको छ जसका कारण पहिले पाँच रोपनी क्षेत्रफलमा फैलिएको धरहरा ४२ रोपनीमा बिस्तार भएको छ । 

Advertisement