यो संविधान संशोधन होइन्, खारेज नै गर्नुपर्छः प्रभु साह

Advertisement

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान बाहिर हेर्दा नेपालको संविधान भनिए पनि अन्तर्यमा हेर्दा यो दलाल, भगौडा र विदेशीहरुको पक्षपोषण गर्ने संविधान भएको आरोप लगाएका छन् । 

आज (बिहीबार) आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको संविधानले नेपाली जनताको भाग्य र भविष्य नबनाउने दाबी गर्दै यसको संशोधन नभएर खारेजी नै गरिनुपर्ने बताए । 

Advertisement

साहले भने, ‘यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन् । यसले नेपाली जनताको भाग्य र भविष्यलाई उज्जवल गर्दैन् । यसले नेपाललाई बर्बाद मात्रै गर्नेछ भन्ने कुरा यो १० वर्षको घट्नाक्रमले पुष्टि गरिसकेको छ । हामीले पनि हेरिसकेका छौं । कसैले भुलवश यो नेपालको संविधान र नेपालको सरकार नेपालीकै हो भन्ने भ्रममा हुनुहुन्छ भने आजैबाट त्यो भ्रम हटाईदिन आग्रह गर्न चाहन्छु ।’ 

उनले थपे, ‘कसैले नेपालकै सरकार हो भन्यो भने म त्यसलाई सोध्न चाहन्छु–अहिलेको प्रधानमन्त्री केपी ओलीजीसँग सोध्न चाहन्छु–साँच्चै तपाईं नेपालकै प्रधानमन्त्री हो ? नेपाली जनताकै प्रधानमन्त्री हो ? तपाईंको जिउमा नेपालीकै रगत र पसिना छ ? यदि छ भने जसले नेपालको नागरिकता त्यागे, उनीहरुको पैत्तिक सम्पत्ति कहाँ छ ? त्यो सोध्न चाहन्छु । हेक्टर हेक्टरका जग्गा बेचेर नेपालीहरुले पैसा अमेरिका, अष्ट्रेलिया लैजान मिल्छ कि मिल्दैन् ? नेपालीहरुको भूभाग, जमिन, पूर्वजले आर्जिएको जमिन अमेरिका लैजान मिल्छ ? म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु तपाईं साँच्चै नेपाल र नेपालीहरुको प्रधानमन्त्री हो भने ती सम्पत्ति कहाँ छन् ? त्यसको जवाफ दिनुहोस । नेपाली जनता जान्न चाहन्छन् ।’ श्रमिकहरुले पठाएको रेमिट्यान्स कहाँ छ ?’

नेपालको अर्थतन्त्र धराशयी भएको र नेपालीहरुलाई विदेशमा कमाउने र विदेशमा नै आश्रित हुने बनाईएको भन्दै साहले आक्रोश पोखे । उनले भने, ‘यहाँ ज्ञानेन्द्र शाहीजीले जुम्लाको स्याउको कुरा गर्नुभयो । अलिक माथि उठ्नुपर्यो । नेपालका सबै उत्पादन धरासाही बनाईयो । अनि विदेशी वस्तुमा निर्भर गरियो । किनकी यहाँको सरकार विदेशीको पक्षपोषण गर्ने छ । दलाल र भगौडाहरुको पक्षपोषण गर्नेछ । यसमा कहीँ कतै द्धिविधा नहोस भनेर म भन्छु । अहिले नेपालमा त नेपाली पोशाक, टोपी लगाउने अनि काम चाहीँ विदेशीको गर्ने भएको छ । यो छद्यमभेषी राजनीतिबाट बाहिर आउनुपर्छ ।’

पूर्वमन्त्री साहले अहिलेको संविधान स्वरूपमा खिचडी चरित्रको भएको दाबी गरे । उनले भने, ‘अहिलेको संविधानको प्रवृत्ति र चरित्र लुटकारी छ । यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन, यसले नेपाली जनताको होईन, विदेशीहरुको पक्षपोषण गरेको छ । यहाँ विदेशी ईन्ट्रेष्टमा काम हुन्छ । प्रभु साह पूर्वाग्रहमा बोलिरहेको छैन् । म कुनै आग्रह वा पूवाग्रहमा हिँड्ने मान्छे पनि होईन । यो संविधान र व्यवस्थाको लागि मैले ठूला ठूला लडाईं लडेको छु ।’

नेपालको बदलाको लागि नेपाली जनताले विभिन्न आन्दोलन र जनयुद्धमार्फत ठूलो त्याग र बलिदानी दिएको भन्दै साहले त्यसमा आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको बताए । उनले भने– ‘प्रभु साह भनेको एउटा जिउँदो शहीद हो । भाग्य र सञ्जोगले बाँचेको हुँ । यातनाको एउटा किताब हो– प्रभु साह । यातनाको एउटा कथा हो– प्रभु साह । म नेपाली सेनाको झण्डै वर्षौंको यातनाको शिकार भएको हुँ । त्यतिबेला म बाँचेको हुँला भनेर कसैले पनि सोचेका थिएनन् । यसरी वर्षौ सेनाको हिरासतमा बिताएको र यातनाको एउटा ठूलो किर्तीमान कायम गरेको मान्छे हुँ । म नेपालको बदलावको लागि लडेको हुँ ।’ 

साहले अझै थपे, ‘म जतिवेला जनआन्दोलन, जनयुद्ध र विभिन्न आन्दोलनमा लडिरहेको थिएँ, तपाईंहरु के गर्दै हुनुहुन्थ्यो, दुनियाँले हेरिरहेको छ । म अन्तरिम संविधानदेखि अहिलेसम्म संसद्मा छु । म आक्कलझुक्कल जित्ने मान्छे होईन । ०६३ सालदेखि लगातार संविधान निर्माणको प्रोसेसमा छु । म देशमा बदलवाको लागि लडेको थिएँ । नेपाली जनताले देशमा लोकतन्त्रको लागि लडेका थिए । संघीयता र गणतन्त्रको लागि लडेका थिए । समावेशी–समानुपातिक प्रतिनिधित्वको लागि लडेका थिए । धर्मनिरपेक्षताका लागि लडेका थिए । त्यसको एंगेलबाट एकचोटी समिक्षा गर्नुभएको छ ? संविधानसभामा प्रभु साहको मेजर भूमिका थियो । म संविधान मस्यौदा समितिमा थिएँ । र, मैले राजीनामा दिएँ । राप्रपा पार्टी त्यतिवेला २० सिटको थियो । तर, संविधान जारी गर्दा हात्ती आयो हात्ती आयो फुस्स भयो । त्यसैले राप्रपालाई संविधानको विरोध गर्ने नैतिक आधार छैन् ।’ 

नेता साहले नेपालमा अहिले लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको टिप्पणी गरे । उनले भने, ‘मैले यो कुरा आज भनेको होईन, आजभन्दा १० वर्षअघि नै भनेको थिएँ । नेपालमा अब लोकतन्त्र रहेन, यो त दलतन्त्र भयो भनेर भनेको थिएँ । लोकतन्त्रमा निर्वाचित संस्थाको सुप्रिमेसी हुन्छ । नेपालमा जनताबाट निर्वाचित जनप्रतिनिधिहरु डोमिनेट छन् । हिजो पञ्चायतकालमा जसरी जनप्रतिनिधिहरु राजाबाट डोमिनेट थिए, अहिले दलबाट डोमिनेट छन् । मैले यो संसद्लाई मैले लोकतन्त्रको मन्दिर भनेको छैन, यो त दलहरुको कारिन्दाको समारोह भनेको छु ।’

नेपालमा निर्वाचन प्रणालीको विकृतिको कुरा उल्लेख गर्ने क्रममा समानुपातिक मतबाट को सांसद बन्छ भन्ने कुरा मत हालेका जनतालाई थाहा नहुनु जनताप्रति गद्दारी भएको साहको तर्क छ । उनले संघीयतालाई पनि पहिचान र अधिकारविहीन बनाईएको बताए । 

उनले भारत र चीनजस्तो भीमकायी जनसंख्या भएका देशमा जम्मा ३७ र ३४ वटा सरकारमात्रै रहेको तर नेपालजस्तो तीन करोड जनसंख्या भएको देशमा ७६१ वटा सरकार बनाईएको भन्दै आक्रोश पोखे । साहले संघीय शासन भएका कुनैपनि देशमा तीन तहका सरकार नभएको तथ्यांक पेश गरे । उनले नेपालमा भने तीन टायरको सरकार बनाईएको भन्दै आलोचना गरे । 

साहले नेपालमा शासक वर्गलाई नै आरक्षण दिएको भन्दै आलोचना गरे । उनले अहिले दलतन्त्र र दलका नेताहरू मालामाल भएको र जनता लाचार हुनुपरेको अवस्था रहेको सुनाए । साहले जनताको शासन ल्याउनुपर्ने आवश्यकत्ता औंल्याए । उनले पूरानै दलमा सवार भएर देश र जनताको लागि राम्रो गर्न नसक्ने निश्कर्ष निकालेर आफूले नयाँ दल खोलेर जनताको सेवामा समर्पित भएको बताए । 

Advertisement