अमेरिकामा नेपालको शीर ढल्न दिन्नः प्रम ओली

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा आफूूले नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने बताएका छन् । 

संसदमा सोमबार बोल्दै उनले राष्ट्रसङ्घको बडापत्रको पालना गर्दै अरुको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने र अरुको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने बताए । 

Advertisement

नेपालको संविधान, प्रजातान्त्रिक मान्यता, सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय राख्ने ओलीको भनाई छ । 

उनले भने, ‘विकास र समृद्धिको यात्रामा हाम्रा प्रयास र समस्याहरु जे छन् र हाम्रो प्रयासमा अपुुग भएका विषयमा विश्वसँग हातेमालो कसरी गर्ने भन्ने विषय राष्ट्रसङ्घमा राखिनेछ । नेपाल अशल छिमेकी सम्बन्ध राख्न चाहन्छ । छुद्र र जाली छिमेकी होइन । हामी पनि छिमेकीप्रति त्यस्तै व्यवहार गर्छौँ । छैन कसैसँग शत्रुुता, छ सबैसँग मित्रता भन्ने हाम्रो सोच हुनेछ ।’

ओलीले आफूहरुले देश र जनताको लागि राजनीतिक गर्ने तथा आजका लागि र त्यो भन्दा बढी भोलिका लागि राजनीति गर्ने भएकाले यस तथ्यलाई मनन् गरेर अन्तर्राष्ट्रिस्तरमा प्रतिनिधित्व गर्ने दावी गरे । उनले महासभामा ‘फ्युुचर समिट’ मा सम्बोधन गरी मानव जाति र धर्तीको सुरक्षा, हिमाल र समुुद्रको इकोसिस्टमबारे नेपालको दृष्टिकोण प्रस्तुत गर्ने अवगत गराउँदै हिमाल पग्लिएर समुद्रको सतह वृद्धि भएको बताए । 

अमेरिकामा रहँदा न्युुयोर्कस्थित कोलम्बिया विश्वविद्यालय र बोष्टर्नस्थित हार्बर्ड विश्वविद्यालयमा पनि सम्बोधन गरी आफूहरुले रोजेर ल्याएको प्रजातान्त्रिक प्रतिस्पर्धाको प्रणालीबारे प्राज्ञिक दृष्टिकोण राख्ने बताए । 

ओली महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते अमेरिका जाने कार्यक्रम छ । 

Advertisement