रवि लामिछाने सहकारी बाहिर बसेर सहकारी ठग्ने ठग होः गगन थापा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाहिरबाटै सहकारी रकम ठगी गरेको पुष्टि भएको तर्क गरेका छन् । 

सहकारीभित्र बसेरभन्दा पनि बढी रकम बाहिरबाटै ठगी गरेको संसदीय छानविन समितिको प्रतिवेदनले स्पष्ट देखाएको उनको दाबी छ । बुधवार आफ्नो पार्टीको केन्द्रीय कार्यालयमा थापाले लामिछानेले आफूहरुले सोचेभन्दा धेरै करिव ६५ करोड ठगी गरेको पनि संसदीय छानविन विशेष समितिको प्रतिवेदनमा उल्लेख गरिएको बताए । 

Advertisement

सो विशेष समितिमा रहेका रास्वपाका सांसद शिशिर खनालले लामिछानेले सहकारीमा ठगी गरेको स्वीकार गर्दै सो प्रतिवेदनमा हस्ताक्षर गरेर पनि बाहिर आएको क्लिन चिट पाएको भनेर छट्टु कुरा गरेको उनले बताए । थापाले पार्टी उपसभापति धनराज गुरुङ माथि पनि सहकारी ठगीको आक्षेप लागेको र त्यसको तथ्य पत्ता लगाउनका लागि आफूहरुले सरकारलाई भनेको पनि बताए । 

नेता थापाले भने, ‘सहकारी कानूनमा दफा १२२ ले के भन्छ ? भने सहकारीमा ठग्ने मानिसहरु दुई खालका छन् । एउटा आफैँ सहकारीमा बस्छ । सहकारीलाई ठग्छ । एउटा आफू सहकारीमा बस्दैन । बाहिर बस्छ । तर विभिन्न माध्यमबाट सहकारीलाई ठग्छ । त्यसैले सहकारीमा बसेर ठग्नेहरु पनि ठग नै हुन् । तर आफू सहकारीमा बस्दैनन, बाहिर बस्छन् । कम्पनीमा बस्छन् वा केहीमा बस्छन् । तर सहकारीबाट पैसा लिएर जान्छन्, त्यो पनि ठग नै हो भनेर त्यो दफाले सहकारीमा बसेर पैसा दिने मात्रै होइन है । सहकारीको पैसा लिने पनि ठग हो । सहकारीमा बसेर ठग्नेहरु भन्दा पनि नबसेर ठग्नेहरु धेरै हुँदा रहेछन् ।’

उनले थपे, ‘त्यसैले कानूनमा नै के लेखियो भने सहकारीमा बसेर ठग्नेहरु जति दोषी हो । सहकारी नबस्ने, तर पैसा लैजानेहरु पनि ठग हो है भनेर । यो पनि सहकारी कानून हो । हामीले सोचेको भन्दा कति धेरै रहेछ, रहेछ । हामीले जति गर्योभनेर सोचेका थियौ, त्यो भन्दा कति कति । जस्तो उदाहरणको लागि सहकारी खोलेको छ । कम्पनी छ । त्यो कम्पनीमा सिधा चेक काटेर करोडौं कुम्ल्याएको छ । यहाँ मेरो सिग्नेचर छैन्न भन्ने कुरा सुन्छु मैले । कसैको पनि सिग्नेचर छैन । ठगी कसरी गरिएको छ भने कसैले सिग्नेचरनै गरेको छैन । मज्जाले कम्पनी खोलेको छ । कम्पनीमा करोड, करोड आएको छ । अनि बसेर चेक काटिएको छ । चेक काटेपछि अहिले आएर के भनिएको छ भने त्यो करोड कहाँबाट आयो ? मैले थाहा पाइन ।’

थापाले संसदीय छानविन विशेष समितिले बुझाएको सो प्रतिवेदनलाई सरकारले कार्यान्वयनमा लैजाने विश्वास समेत व्यक्त गरे । 

Advertisement