शेयर कारोबारबाट सरकारलाई दुई अर्ब ५८ करोड पूँजीगत लाभकर प्राप्त

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को भदौ महिनामा शेयर लगानीकर्ताले सरकारलाई दुई अर्ब ५७ करोड ९४ लाख ८० हजार रुपियाँ पूँजीगत लाभकर तिरेका छन् । 

सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट प्राप्त भदौ महिनाको तथ्यांकले यस्तो देखाएको हो । भदौमा व्यक्तिगततर्फ दीर्घकालिन कारोबारबाट ७३ करोड ३९ लाख रुपियाँ र अल्पकालिन कारोबारबाट एक अर्ब ५३ करोड ८४ लाख रुपियाँ पुँजीगत लाभकर उठेको छ । यसैगरि संस्थागत कारोबारबाट ३० करोड ४० लाख छ हजार रुपियाँ र स्टक डिलरबाट ३० लाख ३९ हजार रुपियाँ पूँजीगत लाभकर उठेको तथ्यांकमा उल्लेख छ । 

Advertisement

गत साउनमा चार अर्ब २३ करोड ७८ लाख रुपियाँ पूँजीगत लाभकर उठेको थियो ।  

बिशेषगरि गत साउन महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसूचक उच्च दरमा बढ्यो । असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुचक २२४०.४१ विन्दुमा थियो । साउन मसान्तसम्म आउँदा त्यो तीन हजार विन्दुमा पुगेको थियो । अहिले भने त्यो २५७६ को विन्दुमा आएको छ ।

लगानीकर्ताले नाफा कमाउन भनेको नै शेयर बजार बढेको बेलामा हो । साउनमा नेप्से सुचकसँगै कारोबार बढेको थियो । त्यसले गर्दा त्यसबेला उच्च मात्रामा पूँजीगत लाभकर संकलन भएको थियो । त्यसको तुलनामा भदौमा कारोबार रकम पनि कम भयो । साथै, नेप्से सुचक पनि घट्यो । त्यसले गर्दा भदौमा पूँजीगत लाभकर घटेको देखिन्छ । 

यद्यपि, यो पूँजीगत लाभकर गएको बर्षको तुलनामा बढी हो । गत आवको साउनमा ४० करोड आठ लाख ९१ हजार रुपियाँ र भदौमा १४ करोड पूँजीगत लाभकर उठेको थियो । गत आवभरमा भने पाँच अर्ब ५० करोड ७७ लाख रुपियाँ पुँजीगत लाभकर उठेको थियो । तर, चालु आवको दुई महिनामै गत आवभरको भन्दा धेरै पूँजीगत लाभकर उठेको देखिन्छ । यो दुई महिनामा गरेर छ अर्ब ८१ करोड ७२ लाख रुपियाँ पूँजीगत लाभकर उठेको देखिन्छ । 

अघिल्लो आव २०७९–८० मा दुई अर्ब ९७ करोड पाँच लाख ८९ हजार रुपियाँ पूँजीगत लाभकर उठेको थियो । त्यसअघि आव २०७६–७७ मा ९८ करोड ५२ लाख ८६ हजार, आव २०७७–७८ मा १४ अर्ब १३ करोड ६१ लाख र आव २०७८–७९ मा १० अर्ब ३५ करोड ३० लाख रुपियाँ यस्तो कर उठेको थियो । पहिला नेप्से ३२ सय विन्दुमा पुग्दा पनि यस्तो कर संकलन उच्च थियो । 

शेयर कारोबार गर्दा हुने खुद नाफामा लगानीकर्ताले तोकिएको दरमा सरकारलाई कर तिर्नुपर्छ । खरिद गरेको एक बर्षपछि बिक्री गरेको शेयरमा भएको खुद नाफामा पाँच प्रतिशत कर तिर्नुपर्छ । खरिद गरेको एक बर्ष भित्रै बिक्री गरेको शेयरमा हुने खुद नाफामा ७.५ प्रतिशत पुँजीगत नाफा तिर्नुपर्छ । संस्थागत लगानीकर्ताले भने १० प्रतिशत कर तिर्नुपर्छ । शेयर कारोबारमा नाफा नभएमा भने कर तिर्नुपर्दैन ।
 

Advertisement

Advertisement