बजारमा पैसा छ तर लगानी छैन, आज पनि ३० अर्ब तरलता उठाउँदै केन्द्रीय बैंक

Advertisement

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै नेपाल राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । केन्द्रीय  बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । 

चार दिनअघि आइतबार मात्र केन्द्रीय बैंकले ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो । 

Advertisement

बैंकमा निक्षेप थुप्रिने तर कर्जाको माग नहुँदा तरलता व्यवस्थापनमा बैंक तथा वित्तीय संस्थाहरु हैरानीमा छन् । यसैले केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत निरन्तर तरलता प्रशोचन गरिरहेको छ । 

पछिल्लो तथ्यांक अनुसार असोज ३ गतेसम्म बैंकहरुले ६५ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैगर्दा जम्मा ५२ खर्ब २४ अर्ब रुपैयाँ बराबर मात्र कर्जा लगानी गर्न सकेका छन् । 

समीक्षा अवधिमा ७८.७८ प्रतिशत कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग ७ खर्ब रुपैयाँ बढी लगानीयोग्य पुँजी (तरलता) रहेको छ । तर कर्जाको माग नै नहुँदा केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकल उपकरणको माध्ययमबाट तरलता प्रशोचन गरिरहेको हो । सोही निरन्तरता स्वरुप केन्द्रीय बैंकले पछिल्लो पटक १४ दिनका लागि थप ३० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । निक्षेप संकलन उपकरणको आजै बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । 

केन्द्रीय बैंकले बजारमा तरलता अभाव हुँदा रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा ठिक उल्टो रिभर्स रिपो अर्थात् निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गर्नेगर्छ । 
 

Advertisement

Advertisement