घरजग्गा कारोबारबाट सरकारले दुई महिनामा अशुल्यो सात अर्ब राजश्व

Advertisement

काठमाडौं । सरकारले चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो दुई महिनामा घर जग्गा कारोबारबाट झण्डै सात अर्ब रुपियाँ राजश्व प्राप्त गरेको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख बिभागबाट प्राप्त तथ्यांकअनुसार साउन र भदौमा गरेर घरजग्गा कारोबारबाट छ अर्ब ९२ करोड ५३ लाख ४२ हजार रुपियाँ राजश्व उठेको देखिएको हो । 

Advertisement

घरजग्गा सम्बन्धी कारोबार गर्दा लाग्ने सम्पूर्ण करको शीर्षकबाट यतिका राजश्व उठेको बिभागको भनाइ छ । सरकारको आम्दानीमा यस्तो राजश्वको हिस्सा उच्च नै हुने गर्छ ।

तथ्यांकअनुसार साउनमा तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपियाँ यस्तो राजश्व उठेको थियो । भदौमा भने तीन अर्ब नौ करोड दुई लाख ५९ हजार रुपियाँ राजश्व उठेको देखिन्छ । 

गत आवको पहिलो दुई महिनामा पाँच अर्ब ९५ करोड ६३ लाख ७४ हजार रुपियाँ यस्तो राजश्व उठेको थियो । त्योअनुसार समिक्षा अवधीमा घरजग्गा कारोबारबाट उठ्ने राजश्व १६.२६ प्रतिशतले बढेको देखिन्छ । 

गत आवको साउनमा दुई अर्ब ९१ करोड चार लाख २७ हजार रुपियाँ र भदौमा तीन अर्ब चार करोड ५९ लाख ४६ हजार रुपियाँ यस्तो राजश्व उठेको थियो ।  गत आवमा घरजग्गा कारोबारबाट ४२ अर्ब एक करोड ३२ लाख रुपियाँ राजश्व उठेको थियो ।

साउन र भदौंमा गरेर देशभर ७६ हजार ६३३ वटा घरजग्गाका कारोबार भएका छन् । यो गत आवको सोही अवधीको तुलनामा ३.५५ प्रतिशतले बढी हो । गत आवको दुई महिनामा देशभर ७४ हजार ९४९ वटा घरजग्गाको कारोबार भएको थियो । 

तथ्यांकअनुसार गत आवभरमा भने पाँच लाख ३७ हजार २९५ वटा घरजग्गाको कारोबार भएको छ ।

Advertisement

Advertisement