उच्च सम्भावना भएको नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई अध्यक्ष कार्कीको आग्रह

Advertisement

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले क्यानेडिएन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । क्यानेडिएन ड्याम एसोसिएशनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।

कार्कीले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना हुँदाहुँदै पनि अहिलेसम्म ३ हजार मेगावाट मात्रै विद्युत उत्पादन भएको, ४ हजार मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन रहेको, विद्युत खरिद विक्री सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका आयोजना पनि ४ हजार मेगावाट क्षमताका रहेको बताएका छन् । १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेको र अरु थप १० हजार मेगावाट क्षमताका आयोजनाहरु अध्ययनको विभिन्न चरणमा रहेको बताएका छन् । 

Advertisement

सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको रोडम्याप अघि सारेको छ । नेपालको जलविद्युत उत्पादन क्षमता कम्तिमा ७२ हजार मेगावाट छ । तर, यसको लागि नेपालमा ठूलो लगानीको खाँचो रहेको बताउँदै अध्यक्ष कार्कीले क्यानेडिएन लगानीकर्ताहरुलाई नेपालमा लगानी गरेर राम्रो प्रतिफल हाँसिल गर्न आग्रह गरे । 

नेपालमा विद्युत उत्पादन गरे बजारको पनि सुनिश्चितता भएको भन्दै कार्कीले भारतमा १० हजार मेगावाट निर्यातको सम्झौता नै भइसकेको र बंगलादेशमा पनि ५ हजार मेगावाट निर्यातको लागि पहल भइरहेको बताए । 

‘अहिले भारतमा १ हजार मेगावाट विद्युत निर्यात भइरहेको र बंगलादेशमा ४० मेगावाट निर्यातको लागि सम्झौतामा हस्ताक्षर हुन मात्रै बाँकी रहेको छ। ४० मेगावाट विद्युत थोरै लागेपनि बंगलादेशको विद्युत माग पुरा गर्न सन २०४० सम्म बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत आयात गर्नुपर्ने प्रक्षेपण गरेको छ । दुई ठूला उदयीमान अर्थतन्त्र भएका भारत र बंगलादेशमा विद्युतको माग जति पनि रहेको र नेपालमा ठूलो परिमाणमा उत्पादनको सम्भावना भएकोले नेपालको जलविद्युतमा गरिएको लगानीले राम्रो प्रतिफल दिन्छ । यसैले सम्भावना नै सम्भावना रहेको नेपालको जलविद्युतमा लगानी गर्न म यहाँहरुमा विशेष आग्रह गर्दछु’ क्यानेडिएन लगानीकर्तासँग अध्यक्ष कार्कीले आग्रह गरे ।

Advertisement

Advertisement