गत आवमा पानीको आयात बढ्दा निर्यातमा भने गिरावट

जलस्रोतको धनी देश नेपालमा एक दर्जनभन्दा बढी देशबाट आयात हुन्छ पानी

Advertisement

काठमाडौं । नेपालका अझै ३.६ प्रतिशत जनता आधारभूत खानेपानीको पहुँचभन्दा बााहिर छन् । उच्च गुणस्तरको पानीको पहुँच भने २५.८१ प्रतिशत जनतामा मात्रै पुगेको छ । 

काठमाडौं लगायतका सुविधा सम्पन्न शहरमा बसोबास गर्नेले पर्याप्त मात्रामा पानी पाउन सकेका छैनन् । तर, सोही देशबाट विदेशमा खानेपानी भने निर्यात हुने गरेको छ । सँगसँगै निर्यात हुने पानीभन्दा आयात हुने पानी धेरै छ । 

Advertisement

भन्सार बिभागबाट प्राप्त तथ्यांकअनुसार गत आर्थिक बर्ष २०८०–८१ मा ८६ लाख ३१ हजार रुपैयाँको पानी निर्यात भएको छ । ८२ हजार ७८४ लिटर पानी निर्यात भएको तथ्यांकमा उल्लेख छ । भारत, जापान, साउदी अरब, चिन र हङकङमा उक्त पानी निर्यात भएको तथ्यांकमा उल्लेख छ । 

गत आवमा चिनी जस्ता मिठास बस्तु नथपिएको ‘एरेटेड पानी’ १२ हजार ९७२ लिटर निर्यात भएको छ । त्यसबाट १५ लाख २२ हजार रुपियाँ आम्दानी भएको देखिन्छ । 

यस्तै, चिनी तथा मिठास नथपिएको पानी (अनस्विट वाटर) भने ४८ हजार ४९८ लिटर निर्यात भएको छ । त्यसबाट नेपालले ५० लाख ३९ हजार रुपियाँ आम्दानी गरेको छ । यसमा बरफ (आईस) पनि समावेश गरिएको छ । 

यस्तै, चिनी र मिठाई समावेश गरिएको पानी (मिनिरल र एरेटेड) भने २१ हजार ३१३ लिटर निर्यात भएको छ । त्यसबाट २० लाख ७१ हजार रुपियाँ आम्दानी भएको छ । 

तर, अघिल्लो आवको तुलनामा पानीको निर्यात भने स्वाट्टै घटेको छ । अघिल्लो आव २०७९–८० मा नेपालबाट ५४ करोड ३९ लाख ५१ हजार रुपियाँको ८२ लाख २० हजार ३७५ लिटर पानी निर्यात भएको थियो ।  तर, अहिले यस्तो पानीको निर्यात एक करोड रुपियाँको भन्दा पनि कम छ । 

गत आवमा चिनी र मिठाई समावेश गरिएको पानी (मिनिरल र एरेटेड) मात्रै ८२ लाख चार हजार ७८२ लिटर निर्यात भएको थियो । त्यसबाट ५४ करोड २५ लाख रुपियाँ आम्दानी भएको थियो । तर, अहिले पानीको निर्यातमा कमी आएको देखिएको छ । 

तर निर्यातभन्दा आायत धेरै 
नेपालबाट पानी निर्यात मात्रै होइन आयात पनि हुने गरेको छ । मूल्यका आधारमा गत आवमा निर्यात गरेकोभन्दा आयात गरेको पानी नै धेरै छ । 

तथ्यांकअनुसार गत आवमा एक करोड २२ लाख २३ हजार रुपियाँको पानी आयात भएको छ । परिमाणका आधारमा ७५ हजार ८८० लिटर पानी आयात भएको छ । त्यसबाट सरकारले ७१ लाख १६ हजार रुपियाँ राजश्व प्राप्त गरेको छ । 

गत आवमा पानीको आयात बढेको पनि देखिन्छ । अघिल्लो आव २०७९–८० मा भने एक करोड चार लाख २० हजार रुपियाँको ७५ हजार ४६२ लिटर पानी आयात भएको थियो । त्यसबाट सरकारले ६० लाख ६३ हजार रुपियाँ राजश्व पनि प्राप्त गरेको थियो । यसरी गत आवमा पानी आयात बढेको पनि देखिन्छ । 

नेपाल जलस्रोतमा धनी देश मानिन्छ । तर, यहाँ पर्याप्तमा मात्रामा गुणस्तरीय खानेपानी नभएको टिप्पणी पनि गरिन्छ । त्यसले गर्दा तारे लगायतका होटेलले बिशेष पाहुना तथा विदेशी पर्यटकलाई लक्षित गरेर विदेशबाट पानी आयात गर्ने गर्छन् । 

यस्तै, नेपालमा भएका विदेशी दूतावासले पनि कहिलेकाहीं आफ्नै देशको पानी लिएर प्रयोग गर्ने गर्छन् । यी यस्ता प्रयोजनमा पानी आयात हुने गरेको छ । 

समीक्षा बर्षमा भारतबाट ३६ लाख ७८ हजार रुपियाँको ३० हजार ८०१ लिटर पानी आयात भएको छ । फ्रान्सबाट ३१ लाख २१ हजार रुपियाँको १० हजार ७२९ लिटर पानी आयात भएको छ । यसैगरि चीनबाट १६ लाख ३६ हजार रुपियाँको ६२६ लिटर पानी आयात भएको छ ।

यसैगरि, नाम नखुलाइएको मुलुकहरुबाट ३५  लाख ६८ हजार रुपियाँ बराबरको ३२ हजार ९९८ लिटर पानी आयात भएको तथ्यांकमा देखिन्छ । इटालीबाट पनि एक लाख ८७ हजार रुपियाँको ६७५ लिटर पानी आयात भएको छ ।  अमेरिका, टर्की, युएई, कतार, बेल्जीएम, फिनल्यान्ड, आयरल्यान्ड, अष्ट्रेलिया र हङकङबाट पनि नगन्य मात्रामा पानी आयात भएको देखिन्छ । 

नेपाल जलस्रोतको धनी देश भनिन्छ । तर, गत आवमा नाम नै खुलाएर १३ मुलुकबाट पानी आयात भएको छ । 

Advertisement