मूल्यमा एकरुपता कायम गर्न होटल व्यवसायीहरु सहमत

Advertisement

काठमाडौं । उपभोग्य वस्तु खाना तथा पेय पदार्थको मूल्यमा एकरुपता ल्याउन होटल व्यवसायीहरु तयार भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत असोज ७ गते बजार अनुगमनका क्रममा काठमाडौंका १७ वटा होटलमा छापा हान्दै एउटा होटललाई ३ लाख रुपयाँ जरिवाना तिराएको थियो ।

उक्त कारवाहिपछि होटल व्यवसायी संगठनहरु र निजी व्यवसायिक संघ संगठनहरुले विरोध जनाएका थिए । विभिन्न संगठनहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कारवाहि विरुद्ध ज्ञापनपत्र समेत पेस गरेका थिए । बिहिबार व्यवसायीहरुले उद्योग मन्त्री दामोदर भण्डारीलाई भेटी बजार अनुगमन र कारबाहीको सन्दर्भमा ध्यानाकर्षण समेत गराएका थिए । बजार अनुगमनको नाममा व्यवसायीहरुलाई त्रसित गर्ने काम तत्काल रोक्नुपर्ने र जरिवाना गरिएको रकम तत्काल फिर्ता गर्नुपर्ने माग व्यवसायीहरुले राखेका थिए ।

Advertisement

प्रतिउत्तरमा मन्त्री भण्डारीले व्यापारिक क्षेत्रमा भइरहेको अनियमितता रोक्नमा साथ दिन व्यवसायीहरुसँग आग्रह गरेका थिए । बरु बजार अनुगमनमा व्यवसायी प्रतिनिधिलाई समेत सँगै हिड्न आग्रह गर्दै मन्त्री भण्डारीले गल्ती नगरेमा बजार अनुगमन नै नगर्ने बताएका छन् ।

‘हामी अहिले कोहि व्यवसायी, कोहि ग्राहक, कोहि सरकारका प्रतिनिधि, जेसुकै भएपनि सबभन्दा पहिला हामी सबै उपभोक्ता हौँ, स्वस्थकर खाद्य सामग्री हामीले उपयुक्त मुल्यमा पाउनुपर्छ । तर काठमाडौंका केहि रेस्टुरेण्टले असुल्दै आएको मुल्य अत्याधिक छ, त्यो गर्न पाइदैन्’ मन्त्री भण्डारीले भने ।

२२ रुपयाँ पर्ने एक बोटल पानीको एक सय रुपयाँसम्म असुलेको भेटिएपछि सम्बन्धी व्यवसायीलाई कारबाही गरिएको मन्त्री भण्डारीले बताए । ‘होटलैपिच्छै फरकफरक मुल्यसूचि रहेकाछन् यसमा एकरुपता ल्याउनुस् । गुणस्तरीय सामग्री उचित मुल्यमा उपलब्ध गराउनुस् हामी अनुमगन गर्न छाडिदिन्छौं’ मन्त्री भण्डारीले भने ।

अहिले राजमार्ग क्षेत्रका होटलहरुमा गुणस्तरहिन खाना बेचिरहेको बताउँदै मन्त्री भण्डारीले व्यवसायीहरुलाई फाइदाको लागि उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड नगर्न पनि व्यवसायीहरुलाई सचेत गराए । यस्तो गरिए सरकार मुखदर्शक बनेर बस्न नसक्ने समेत मन्त्री भण्डारीले बताए । 

सोही अवसरमा मन्त्री भण्डारीले एकै स्तरका होटल तथा रेष्टुरेण्टमा पनि मूल्यमा एकरुपता नहुँनुले समस्या नित्याएको बताउँदै उनले स्तर अनुसार मूल्यमा समानता ल्याउन आग्रह गरे । 

मन्त्रीको आग्रहपछि व्यवसायीहरु मूल्यमा एकरुपता कायम गर्न सहमत भएका छन् । व्यवसायीक क्षेत्रका व्याक्तिहरु एकै बैठकमा बसेर मूल्य निर्धारण गर्न सहमत भएकाछन् । होटलको स्तर अनुसार मुल्य निर्धारण गर्ने र त्यसको जानकारी सरकारलाई गराउनमा समेत व्यवसायी सहमत भएका छन् । 

Advertisement

Advertisement