उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

Advertisement

काठमाडौं । काठमाडौं उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएको छ । जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) काठमाडौंका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्यांकअनुसार  हालसम्मकै धेरै पानी परेको उल्लेख छ । 

विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यका अनुसार वर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौंको पानीपोखरीमा २०६.६ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।

Advertisement

काठमाडौं विमानस्थलको वर्षामापन केन्द्रले २३९.७ मिलिमिटर वर्षा भएको जनाएको छ । बूढानीलकण्ठमा १७८.३तीन मिलिमिटर, जितपुरफेदीमा १७८.३ मिलिमिटर, नागार्जुनमा २०५.४ मिलिमिटर वर्षा भएको मापन गरिएको छ । 

ललितपुरको गोदावरी, खुमलटार, टिकाथली, खोकना, चापागाउँ वर्षामापन केन्द्रले पनि रेकर्ड ब्रेक गर्ने वर्षा भएको मापन गरेको छ । भक्तपुरको नखेल वर्षामापन केन्द्रले १९४.५ मिलिमिटर वर्षा भएको मापन गरेको छ । 

ललितपुरको गोदावरीमा ३११.६, खुमलटारमा २९४.४ मिलिमिटर, टिकाथलीमा २६४ मिलिमिटर वर्षा भएको छ । खोकनामा २९७.३ मिलिमिटर र चापागाउँमा ३२३.५ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । 

औसतमा २४ घण्टामा कति मात्रामा पानी पर्यो भन्ने आधारमा हिसाब निकालिने गरिएको छ । काठमाडौं उपत्यकामा मात्रै १७ स्थानमा वर्षामापन केन्द्र छन् । ती केन्द्रले विवरण रेकर्ड गर्छन् । 

असोज १२ गतेको २४ घण्टाको विवरण हेर्दा १४ जिल्लाका २५ स्थानमा सबैभन्दा बढी पानी परेको छ । विभागका अनुसार सबैभन्दा बढी वर्षा मकवानपुरको दामनमा ४१० मिलिमिटर मापन गरिएको छ । काभ्रेपलाञ्चोकको खोपासी मापन केन्द्रमा ३३१.६ मिलिमिटर वर्षा मापन गरिएको छ । 

विगतमा जुलाई, अगस्टमा धेरै वर्षा हुने गरेको थियो । पछिल्ला वर्षहरूको विवरणअनुसार सेप्टेम्बरमा बढी वर्षा हुने गरेको छ । विभागका अनुसार पछिल्ला सात वर्षको विवरण हेर्ने हो मनसुनको सुरुवाती चरण र अन्त्यतिर रेकर्ड ब्रेक गर्ने वर्षा हुन थालेको छ । यो जलवायु परिवर्तनको असरका रुपमा लिन सकिने यस क्षेत्रका जानकारहरुको भनाइ छ । 

कञ्चनपुरमा भएको थियो अति भारी वर्षा 

विभागका अनुसार गत असार २३ र २४ गते कञ्चनपुरमा अति भारी वर्षा भएको थियो । कञ्चनपुरको दोधारा वर्षा मापन केन्द्रमा छ सय २४ मिलिमिटर, हनुमाननगर वर्षा मापन केन्द्रमा पाँच सय ७३ दशमलव छ मिलिमिटर र सुन्दपुर वर्षा मापन केन्द्रमा पाँच सय ५५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको थियो । 

यस वर्ष गत जेठ २८ देखि पूर्वी नेपालबाट सुरु भएको मनसुन गत असार १४ गतेदेखि २४ गतेसम्म सक्रिय भएको थियो । त्यसक्रममा सुदूरपश्चिम प्रदेशको दक्षिण पश्चिम भूभागमा गत असार २३ र २४ गते अति भारी वर्षा भएको थियो । त्यसो त विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने जनाएको थियो । 

वायुमण्डलीय तथ्याङ्क, भूउपग्रहबाट लिइएको तस्बिर तथा मौसम ‘मोडल’ बाट प्राप्त भएको मौसमको अवस्थाको प्रारम्भिक विश्लेषणबाट त्यस दिन न्यून चापिय रेखा सरदर स्थानमा रहेको भएता पनि सुदूरपश्चिम प्रदेशका दक्षिण पश्चिम भूभाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली विकसित भएको थियो । उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यून चापीय रेखा सक्रिय रही अरब सागर तथा बङ्गालको खाडी दुवैबाट आउने जलवाष्पयुक्त हावा सो स्थानमा समिश्रण भई अति भारी वर्षा भएको विभागले जनाएको थियो । 

विभागको विसं २००३ (सन् १९४७) देखिको तथ्याङ्कअनुसार दोधारा, हनुमान नगर र सुन्दरपुरमा मापन भएको विवरणमा गत असारको बर्षा हालसम्मकै उच्च हो । विभागका अनुसार, विसं २०७४ साउन २९ गते हेटौँडा केन्द्रमा सबैभन्दा धेरै पाँच सय १६ दशमलव दुई मिलिमिटर वर्षामापन भएको गरिएको थियो । भूसंरक्षण विभागको विवरणअनुसार, विसं २०५० साउन ५ गते मकवानपुर जिल्लाको टिस्टुङ वर्षामापन केन्द्रमा पाँच सय ४० मिलिमिटर वर्षा मापन गरिएको थियो । रासस


 

Advertisement

Advertisement