कालोबजारी र कृत्रिम अभाव रोक्न प्रभावकारी रुपमा बजार अनुगमन गर्न निर्देशन

Advertisement

काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महङ्गी, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्नेतर्फ सचेत हुँदै मातहतका निकायलाई कडाइ गरेर प्रभावकारी रुपमा बजार अनुगमन गर्न निर्देशन दिएका छन् । 

उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई मन्त्रालयमै डाकेर पछिल्लो विपद्को फाइदा उठाउँदै बजारमा हुने ठगी नियन्त्रणमा निर्मम भएर देशव्यापी रुपमा अनुगमन गर्न निर्देशन दिएका हुन् । “बजारबाट हामीलाई पनि विभिन्न माध्यमबाट दिनहुँ महङ्गी, कालोबजारी र कृत्रिम अभावसम्बन्धी जानकारी प्राप्त भइरहन्छ, ती सूचना पनि यहाँबाट विभागलाई प्राप्त होला, तर विभागले देशभरका मातहतका निकायलाई सक्रिय बनाएर अनुगमनलाई तीव्रता दिनुपर्छ”, मन्त्री भण्डारीले भने । साथै उनले मन्त्रालयबाट अनुगमनका लागि विभागलाई गर्नुपर्ने सहयोगमा कमी नहुने बताए । 

Advertisement

यस्तै, मन्त्री भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्य र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा ल्याइएका सुपथ मूल्य पसल सर्वसुलभ बनाउन निर्देशन दिएको उनका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए । 

वाणिज्य मन्त्रालय मातहतका उक्त व्यापारिक संस्थालाई उपभोक्तामुखी भएर अत्यावश्यक दैनिक उपभोग्य सामानको मौज्दात बढाउन मन्त्री भण्डारीले द्वय प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिए । उनले भने, “उपभोक्ताले सर्वसुलभरुपमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु पाउनुप¥यो, सुपथ मूल्य पसल व्यवस्थित बनाउनु होला, पसल थप सञ्चालन गर्नुपर्ने भए त्यो पनि गर्नुस्, न्यूनतम मौज्दात कायम जुनसुकै हालतमा पनि हुनुपर्छ, मन्त्रालयले के सहयोग गर्नुपर्छ जानकारी गराउनूस् ।” साथै मन्त्री भण्डारीले नेपाल आयल निगमका चण्डीकाप्रसाद भट्टलाई एलपी ग्यासको आवश्यक मौज्दात बढाउन निर्देशन दिए । 

यसैबीच, होटल संघ नेपालले निराधार रुपमा आफूखुसी कुनै सम्झौता नै नगरेको विषयमा प्रचारबाजी गरेकामा मन्त्री भण्डारीको सचिवालयले आपत्ति जनाएको छ । “होटल संघसँग अनुगमन नगर्ने कुनै सहमति भएको छैन, बरु केही होटलहरुले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा अत्यावश्यक वस्तुको बेचबिखन गरिरहेका सूचना प्राप्त भएका छन्, अनुगमनलाई मन्त्रीज्यूले कडाइ गर्न निर्देशन गरिसक्नुभएको छ”, मन्त्री भण्डारीका स्वकीय सचिव भट्टले भने । 

यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग राज्यका प्रचलित कानुनबमोजिम नियमित बजार अनुगमन गर्ने कामलाई निरन्तरता दिँदै गुणस्तरीय वस्तुको उचित मूल्यमा सुलभ आपूर्तिको सुनिश्चितताका लागि हरदम प्रयत्नशील रहिरहेको जनाएको छ । 

विभागका प्रवक्ता डिकबहादुर काकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “विभागले वर्षेभर गर्ने नियमित बजार अनुगमनका अतिरिक्त चाडपर्व लक्षित विशेष अनुगमनलाई अझ सशक्त र प्रभावकारी बनाएको, सार्वजनिक बिदामा समेत अनुगमन टोली परिचालन गरिएको र होटल तथा रेष्टुरेन्टलगायत सबै व्यापार व्यवसायमा विशेष अनुगमन गरिँदै आएको र यसलाई अझ सशक्त बनाइने व्यहोरा सबै सरोकारवालालाई जानकारी गराइन्छ ।”

दुईसातामा एक सय २८ व्यावसायिक फर्ममा अनुगमन
यता, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवं मातहतका कार्यालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीब्रता दिएका छन् ।  

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम असोजका दुई सातामा एक सय २८ खाद्य उद्योग एवं व्यवसायको निरीक्षण, अनुगमन तथा कारबाही गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । जसमध्ये ६१ किराना पसल तथा मार्ट, ४१ होटल–रेस्टुरेन्ट, २४ खाद्य उद्योग र दुई वटा डायट्री सप्लिमेन्ट बिक्रेता फर्ममा निरीक्षण अनुगमन गरिएको उनले बताए ।  

यस्तै, ललितपुरमा २३ खाद्य कम्पनीमा अनुगमन गरिएको छ । धापाखेलस्थित पचली भैरव पानी प्रशोधन उद्योगमा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ बमोजिमका मापदण्ड र अभिलेख नपाइएको हुँदा खाद्य ऐनबमोजिम नमूना सङ्कलन तथा हाललाई उत्पादन रोक्का गरी प्रशोधित पिउने पानी फिलिङ गर्ने स्थान सिलबन्दी गरिएको छ ।

टोखा नगरपालिका–६ धापासीस्थित सनराइज वेभेरेज नेपाल प्रालिमा निरीक्षणका क्रममा अनुमतिपत्र नवीकरण नभएको र अर्कैको नामको कम्पनीको जारमा पानी फिलिङ गरी बिक्री गरेको पाइएको हुँदा प्रशोधन कक्ष सिल गरिएको छ । सो कम्पनीलाई अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिइएको प्रवक्ता महर्जनले बताए । 

अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका–११, एकता मार्ग, नयाँ बानेश्वरस्थित अर्जुन डेरी प्रालि सिलबन्दी गरिएको छ । ढुसी लागेको नौनी, घ्यू र चिज स्थानीय जानप्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ । जसमा दुई सय ४० केजी नौनी, २५ केजी चीज र ४४ केजी घ्यू रहेको छ । 

ललितपुरको गोदावरी नगरपालिका–११ स्थित प्रशंसा कलेक्शन एण्ड रिफाईन प्रशोधन केन्द्रमा पनि शिलबन्दी गरिएको छ । यहाँ स्थानीय जनप्रतिनिधिको रहोबरमा ९५ केजी घ्यू नष्ट गरिएको छ । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित ‘प्राप्ति फुड प्रोड्क्ट्स’को घ्यूको गुणस्तर विश्लेषण प्रतिवेदन गर्दा न्यूनस्तरको आएकाले असोज १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधिको रहोबरमा ८० केजी घ्यू र ३० केजी नौनी नष्ट गरिएको प्रवक्ता महर्जनले जानकारी दिए ।

यसैगरी उपभोग्य मिति समाप्त भएका, लेबल विवरण नभएका र उचित तवरले भण्डारण नगरेका चाउमिन छ थान, खुवा ६० किलो, मापदण्डभन्दा बढी खाद्य रङ प्रयोग गरिएको पुरी दुई किलो, बिस्कुट, ससेज चार केजी, बिर्यानी मसला पाँच केलो, मह चार किलो, कोदोको पिठो छ किलो, पेयपदार्थ ५१ बोतल, चिली हट ससलगायत अन्य खाद्य पदार्थ गरी करिब रु १० हजार ८५० बराबरको सामान नष्ट गरिएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न खाद्य व्यवसायीलाई विभागले आग्रह गरेको छ । लेबल विवरण नभएका खाद्य पदार्थ बिक्री वितरण नगर्न, सरसफाइमा विशेष ध्यान दिन, खाद्यवस्तु खरिद बिक्री गर्दा लेवल अनिवार्य हेर्न, स्टोर तथा भण्डार व्यवस्थित गरी सफा राख्न, उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ छुट्टै भण्डारण गर्न, पकाएको खाद्यपदार्थ छोपेर राख्न, मसिजन्य पत्रिकामा खाद्य पदार्थ नराख्न, किट नियन्त्रण गर्न र अनुमतिपत्र नलिई खाद्य व्यवसाय सञ्चालन नगर्न निर्देशन दिइएको छ । निरीक्षणका क्रममा कमजोरी देखिएका करिब १३ वटा खाद्य कम्पनीलाई बयानका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ ।

खाद्य उद्योग एवं व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निषेधित कार्य नगर्न, नगराउन अनुरोध गरिएको पनि प्रवक्ता महर्जनले सुनाउनुभयो । अनुरोधविपरीत काम गरेमा ऐन, नियमबमोजिम कानुनी कारबाही हुने विभागले जनाएको छ । 

Advertisement

Advertisement