राष्ट्रिय स्तरका सडक र पुलमा दुई अर्ब ५२ करोडको क्षति, ४२ सडक खण्ड अझै अवरुद्ध

Advertisement

काठमाडौं । बिहीबार रातिदेखि शनिबार साँझसम्मको भारी बर्षाका कारण आएको बाढी पहिरोले सडक र पुल सम्बन्धी पुर्वाधारमा दुई अर्ब ५२ करोड रुपियाँ बराबरको क्षति भएको छ । सडक बिभागले तयार गरेको प्रारम्भिक तथ्यांकले यस्तो देखाएको हो ।

यो संघीय सरकार अन्तरगतका सडक तथा पुलमा भएको आर्थिक क्षति क्षति हो ।  बिभागकाअनुसार सडक तर्फ एक अर्ब ५० करोड रुपियाँको क्षति भएको छ  । पुलतर्फ भने एक अर्ब दुई करोड रुपियाँ क्षति भएको बिभागको तथ्यांक छ । 

Advertisement

बाढीले दुई बेलिब्रीज र चार पक्की गरी छ वटा पुल बगाएको थियो । त्यसमा सुनकोशी नदीमा मात्रै तीन वटा पक्की पुल बगाएको छ । इलाम–सन्दकपुर अन्तरगत राता खोलाको पुल पनि बगाएको छ । कोदारी राजमार्गको लार्चा खोला पुल पनि बाढीले बगाएको छ । 

मेची राजमार्ग अन्तरगत हेवाखोलामा राखिएको बेलीब्रिज पनि बाढीले बगाएको छ । त्यस लगायत अन्य बिभिन्न पुलको संरचनाहरु पनि क्षतिग्रस्त भएको छ । त्यी सबै गरेर पुलमा एक अर्ब दुई करोड रुपियाँको क्षति भएको अनुमान गरिएको हो । 

यसैगरी बिपी राजमार्गको सिन्धुली र काभ्रे खण्डमा झण्डै १४ सय मिटर सडक नै बाढीले बगाएको छ । हेटौडा–कुलेखानी–काठमाडौं सडकमा पनि कुलखानी क्षेत्रमा केही सडक खण्ड बाढीले बगाएको छ । साथै, थुप्रै सडकमा पहिरो जाने र भासिने भएका छन् । त्यसले गर्दा साढे दुई अर्ब रुपियाँ बराबरको क्षति भएको बिभागको भनाइ छ । 

अझै ४२ ठाउँमा सडक पुर्ण अवरुद्ध 
झरी रोकिएको दुई दिनसम्म पनि बिभिन्न राजमार्गको ४२ ठाउँ अझै अवरुद्ध छ । सडक बिभागको पछिल्लो अद्यावधिक तथ्यांकले यस्तो देखाएको हो । 

तमोर करीडोरको बराह क्षेत्र र कान्ती लोकपथको आपचौर खण्ड अवरुद्ध छ । विपी राजमार्गको भ्याकुरे खोला, चार सय बेसी, नेपाल थोक, माम्ती खोला, कालढुंगा, बोक्सी कुना, नार्के पुल, काभ्रे भन्जाङ, भोरुङ्गे, पिनथली बेसी, डाला बेसी, चौकी डाडा लगायतका खण्ड अवरुद्ध छन् । यस्तै, अरनिको राजमार्गको कोदारी, सिर्से, लार्चा, लिपिङ पुल खण्ड अवरुद्ध छ । तथ्यांकअअनुसार ग्वार्को–लुभु–दाहालटार सडकको लाकुरी भन्जाङ खण्ड पनि अवरुद्ध देखिएको छ । 

मध्य पहाडी लोकमार्गको सिन्धुली स्थित अक्करे भीर, हर्जेनी, बलेनी,  कुखुरे टार, ल्याउखोला, फिक्क्ल, रिठ्ठाबोट र सालघारी खण्ड अवरुद्ध छन् । यसैगरि सोही राजमार्गको रामेछाप स्थित खैरेनीघाट र खानी खोला खण्ड पनि अवरुद्ध छ ।
 
मेची राजमार्गको पाँचथर स्थित फिदिम खण्ड पनि अवरुद्ध छ । भेरी करिडोरको पश्चिम रुकम स्थित त्रिवेणी खण्ड, भेडेटार रवि राँके सडकको धनकुटा स्थित ओर्खे खण्ड र पाँचथर स्थित मैदाने खण्ड पनि अवरुद्ध छन् । 

ठोरी–मलेखु–रुसुवागढी सडकको धादिङ स्थित भुट्टार खण्ड पनि अवरुद्ध छ । यस्तै, खुर्कोट–मन्थली–ताकोशी सडकको रामेछाप खण्ड पनि अवरुद्ध छ । पुल बगाएर उक्त सडक अवरुद्ध भएको हो । यस्तै, मदन भण्डारी राजमार्गको नवलपुर तरंग खोला सडक खण्ड पनि अवरुद्ध छ । 

यस्तै, तानसेन–रिडी–कोरला सडकको गुल्मी स्थित लत्रे भिर र बागलुङको कुचरे भिर खण्ड अवरुद्ध छ । यसैगरी लहान–गाईघाट–सोलु सडकको उदयपुर स्थित पोक्सिन्टार खण्ड पनि अवरुद्ध छ । यस्तै, ढोरपाटन सडक आयोजनाको  देवीस्थान सडक खण्ड पनि अवरुद्ध छ ।

Advertisement

Advertisement