हामी जस्ता राजनीतिक मान्छेलाई चाडपर्व आएको याद नै हुँदोरहेनछः पर्यटनमन्त्री पाण्डे

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री बद्री पाण्डे मन्त्री भएपछि यति व्यस्त भएका छन् कि उनी दशैं मनाउन गृहजिल्ला बाजुरा जान यस पटक समय निकाल्न सकेनन् । 

काठमाडौंको सेरोफेरोमा नै दशैं मनाइरहेका उनी एक पटक भने बाजुरा पुग्ने मनस्थितिमा छन् । पाण्डे भन्छन्, ‘म दशैं नै भनेर जान्न होला । यसैको सेरोफेरोमा एक पटक बाजुरा पुग्ने योजना छ । किनभने म मन्त्री पदमा नियुक्त भएपछि गृह जिल्ला जान पाएको छैन । दुई वटा कारणले जान पाएको छैन् । एउटा भौगोलिक हिसाबले निकै टाढा छ । धेरै दिनको तयारीका साथ जानुपर्छ । अर्को कामको व्यस्तताले पनि जान सकेको छैन् ।’

Advertisement

मन्त्रालयको नीतिगत र प्रशासनिक कामकारवाहीका कारण व्यस्त रहेका मन्त्री पाण्डेले घर जाने दिनको टुंगो भने नरहेको बताए । ‘दशैंको सेरोफेरोमा जान पनि सक्छु । अथवा कुन बेला समय हुन्छ, त्यहीअनुसार समय निकालेर जाने सोचिरहेको छु’ उनले भने ।  

हामी राजनीतिक मान्छेलाई चाडपर्व, बिदा जस्ता कुराहरुमा एक किसिमले याद पनि हुँदैन् रैछ भन्दै पाण्डेले भने, ‘अरु सामाजिक जनजीवन त्यो बेला सुस्ता देखिन्छ । जस्तै कार्यालयहरु बन्द रहने, विद्यालयहरु, क्याम्पसहरु, मन्त्रालयहरु समेत बन्द रहन्छ । तर हामी त्यही बेला भेटघाट र कतिपय बाँकी रहेका कामहरु सम्पादन गर्नुपर्छ । त्यो हिसाबले मुख्यगरि हामी बाँकी रहेका अधुरा कामहरु सम्पादन गर्ने समयको रुपमा यसलाई उपयोग गर्न सकिन्छ कि भन्ने मुडमा छु ।’  

साँसदको भूमिकामा मात्रै हुँदा र राजनीतिक पद लिँदा खासै कार्यबोझ धेरै नभए पनि  मन्त्री भएपछि धेरै कार्यबोझ हुने उनले आफ्नो अनुभव सुनाए । त्यसले गर्दा कार्यसम्पादनका सिलसिलामा ढिला सुस्ती भएको महशुस गर्ने गरेका मन्त्री पाण्डेले यस पटकको दशैंलाई सक्दो अधुरा काम सम्पन्न गर्ने क्रममा रहेको बताए । 

यस पटकको दशैं नजिकिएको बेला बाढी पहिरोको विपत्ति आएकोले पनि खुशी भएर दशैं मनाउने परिस्थिति नरहेको उनले बताए । पाण्डेले भने, ‘दशैं अगाडि विपत्ति आइपर्यो देशमा । त्यसले मानिसहरुको जीवनमा शोक परेको अवस्था पनि छ । दुःखको स्थिति पनि छ । त्यो हिसाबले पनि यो शोकलाई बिस्तारै शक्तिमा कसरी बदल्ने ? यो शोकलाई कसरी सामान्यिकरण गर्ने ? भन्ने विषय छ । चिन्ता र शोकले मात्रा हामीलाई बलियो बनाउँदैन् । यसलाई सामान्यिकरण गर्दै दशैं, तिहार, छठ मनाउने हो । चाडपर्व भनेको दुःख, सुःख बाँड्ने समयको रुपमा प्रयोग गर्नुपर्छ । म पनि त्यही हिसाबले आफूलाई मनोवैज्ञानिक रुपमा लागेको छु ।’

Advertisement

Advertisement