सरकारले रवि लामिछानेलाई सहकारी ठगीसँगै संगठित अपराधको मुद्दा पनि लगाउने

Advertisement

काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगीसँगै संगठित अपराधको मुद्दा पनि लगाउने भएको छ । 

सरकारको आदेशमा प्रहरीले उक्त कसुरहरुमा लामिछानेमाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको खुलेको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन भनिएको छ ।

Advertisement

पत्र अनुसार लामिछानेलाई पक्राउ गर्न सीआईबीका एक जना एसपी नेतृत्वको टोली परिचालित भएको छ । उनलाई शुक्रबारै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, कास्की पठाउने तयारी गरिएको छ । सोअनुसार लामिछानेको पार्टी कार्यालय बनस्थलीमा अहिले सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ । 

सत्तारुढ नेकपा एमालेका सांसद् सूर्य थापाको नेतृत्वमा सहकारीको समस्यासम्वन्धी अध्ययन गर्न बनेको संसदीय समितिले सहकारीहरुबाट लामिछानेले ऋण वा सापटी लिएको नदेखिए पनि उनी पहिला कार्यरत गोरखा मिडिया नेटवर्कमा सहकारीको पैसा अपचलन भएकोले लामिछाने दोषी हुने तर्कसहितको प्रतिवेदन दिएको थियो । प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै कास्की प्रहरीले यो मामलामा अनुसन्धान अघि बढाएको थियो । लामिछानेलाई पक्राउ गर्न सहजीकरणका लागि यसअघि नै गोरखा मिडियाका अर्का सञ्चालक छविराज जोशीलाई पक्राउ गरिसकिएको छ । 

सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी भएको पाइएको छ । कास्की जिल्ला अदालतले शुक्रबार लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । 

जसमा विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको छ । 

Advertisement

Advertisement