बैंकको ब्याजदरमा भारी गिरावट हुँदा पनि घरजग्गा कारोबारमा पुनः शिथिलता

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को असोज महिनामा घरजग्गा कारोबार घटेको छ । यो महिनामा देशभर ३० हजार ५२७ वटा मात्रै घरजग्गाका कारोबार भएका छन् । 

भूमि व्यवस्थापन तथा अभिलेख बिभागबाट प्राप्त तथ्यांक अनुसार लिखत पारितका आधारमा कारोबार घटेको देखिएको हो । गत साउनमा ४३ हजार ८३५ र भदौमा ३२ हजार ७९८ वटा घरजग्गा कारोबार भएका थिए । गत आवको असोजमा ३९ हजार ८८१ वटा यस्तो कारोबार भएको थियो । तर, चालु आवको असोजमा घरजग्गा कारोबार साढे ३० हजारमा सीमित भएको छ । 

Advertisement

तथ्यांकअनुसार असोजमा सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सबैभन्दा धेरै कारोबार भएको छ । असोजमा त्यहाँबाट एक हजार १८५ वटा घरजग्गाको लिखत पारित भएको देखिन्छ । 
दोस्रो स्थानमा भने धनुषाको जनकपुरधाम मालपोत कार्यालय रहेको छ । त्यहाँबाट एक हजार १०७ वटा यस्तो कारोबार भएको छ । तेस्रो स्थानमा भने मोरङको बेलवारी मालपोत कार्यालयबाट एक हजार १६ वटा घरजग्गाको कारोबार भएको छ ।
  
यो तीन महिनामा देश भर एक लाख सात हजार १६० वटा घरजग्गाको कारोबार भएको छ । यो गत आवको सोही अवधीको तुलनामा पनि कम हो । गत आवको पहिलो तीन महिनामा एक लाख १४ हजार ८३० वटा घरजग्गाको कारोबार भएको थियो । गत आवभरमा भने पाँच लाख ३७ हजार २९५ वटा घरजग्गाको कारोबार भएको थियो ।

काठमाडौं उपत्यकामा पनि घट्यो कारोबार 
समीक्षा महिनामा काठमाडौं उपत्यकामा तीन हजार १९४ वटा घरजग्गा खरीद बिक्री भएको छ । यो पनि गत भदौको तुलनामा कम हो । गत भदौमा काठमाडौं उपत्यकामा तीन हजार ६२३ वटा यस्तो कारोबार भएको थियो । 

तर, असोजमा त्यो अनुपातमा घरजग्गा कारोबार हुन नसकेको तथ्यांकले पुष्टी गरेको छ । असोजमा ललितपुरको लगनखेल मालपोत कार्यालयबाट ७१० र गोटीखेल मालपोत कार्यालयबाट तीन वटा मात्रै घरजग्गा कारोबार भएको छ । यस्तै, भक्तपुर मालपोत कार्यालयबाट ८२१ वटा घरजग्गा कारोबार भएको देखिन्छ । 

यस्तै, काठमाडौंमा डिल्लीबजार मालपोत कार्यालयबाट १७५, चावहिल मालपोत कार्यालयबाट ३५१, कलंकी मालपोत कार्यालयबाट ४९७, मनमैजु मालपोत कार्यालयबाट २०३, साँखु मालपोत कार्यालयबाट ३१५ र टोखा मालपोत कार्यालयबाट ११९ वटा घरजग्गाका कारोबार भएका छन् ।

भदौमा ललितपुरको लगनखेल मालपोत कार्यालयबाट ७६२ र गोटीखेल मालपोत कार्यालयबाट नौ वटा घरजग्गा कारोबार भएको थियो । भक्तपुर मालपोत कार्यालयबाट ७९६ वटा घरजग्गा कारोबार भएको थियो । 

भदौमा काठमाडौंमा डिल्लीबजार मालपोत कार्यालयबाट १७९, चावहिल मालपोत कार्यालयबाट ४६४, कलंकी मालपोत कार्यालयबाट ६८६, मनमैजु मालपोत कार्यालयबाट २१७, साँखु मालपोत कार्यालयबाट ३८१ र टोखा मालपोत कार्यालयबाट १२९ वटा घरजग्गाका कारोबार भएका थिए । असोजमा अधिकांश ठाउँमा घरजग्गा कारोबार घटेको छ । 

राजश्व पनि घट्यो
कारोबार संख्यामा कमी आएपछि यसबाट उठ्ने राजश्व पनि घटेको छ । असोजमा घरजग्गा कारोबारबाट तीन अर्ब आठ करोड १२ लाख रुपियाँ राजश्व उठेको छ । घरजग्गासम्बन्धी कारोबार गर्दा लाग्ने सम्पूर्ण करको शीर्षकबाट यतिका राजश्व उठेको बिभागको भनाइ छ ।

तथ्यांकअनुसार साउनमा तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपियाँ यस्तो राजश्व उठेको थियो । भदौमा भने तीन अर्ब नौ करोड दुई लाख ५९ हजार रुपियाँ राजश्व उठेको देखिन्छ । यस्तै गत आवको असोजमा चार अर्ब आठ करोड ६६ लाख रुपियाँ राजश्व उठेको छ । तर, असोजमा त्यो घटेका छ । 

यो तीन महिनामा घरजग्गा कारोबारबाट १० अर्ब ६५ लाख रुपियाँ राजश्व् उठेको छ । गत आवको सोही अवधिमा १० अर्ब चार करोड ३० लाख रुपियाँ राजश्व उठेको थियो । गत आवमा घरजग्गा कारोबारबाट ४२ अर्ब एक करोड ३२ लाख रुपियाँ राजश्व उठेको थियो ।

नेपालमा बिगत साढे दुई बर्षदेखि घरजग्गा कारोबारमा शिथिलता छ । तर, बीचमा केही बढ्ने संकेत देखिएको थियो । तर, अहिले पुनः त्यो घट्न सुरु गरेको छ । अहिले बैंकको व्याजदर पनि सस्तो भएको छ । तर, पनि घरजग्गा कारोबार बढ्न सकेको छैन । कित्ताकाटको समस्याले पनि घरजग्गा कारोबारलाई प्रभावित बनाइरहेको व्यवसायीहरु बताउँछन् । घरजग्गा कारोबारमा अझै पनि शिथिलताकै संकेत देखिएको उनीहरुको भनाइ छ । 

Advertisement

Advertisement