शेयर किन्न बैंकहरुबाट एक महिनामै सवा ८ अर्ब ऋण प्रवाह, तर शेयर बजारमा देखिएन प्रभाव

Advertisement

काठमाडौं । भदौ महिनामा बैंक तथा वित्तीय सस्थाहरुले लगानीकर्तालाई शेयर खरीद गर्न आठ अर्ब ३० करोड रुपियाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त भदौ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । 

कर्जा बक्यौता (आउटस्ट्याण्डिङ)का आधारमा भदौमा मार्जिक प्रकृतिको कर्जा आठ अर्ब ३० करोड रुपियाँले बढेको देखिएको हो । गत साउन मसान्तसम्म बैंकहरुले ९१ अर्ब ४४ करोड ३० लाख रुपियाँ बराबरको मार्जिक प्रकृतिको कर्जा प्रवाह गरेका थिए । 

Advertisement

भदौ मसान्तसम्म आउँदा त्यो आठ अर्ब ३० करोड रुपियाँले बढेर ९९ अर्ब ७४ करोड ७० लाख रुपियाँ पुगेको छ । त्यो अनुसार भदौमा मात्रै आठ अर्ब ३० करोड रुपियाँ यस्तो कर्जा प्रवाह भएको तथ्यांकले पुष्टी गरेको छ । 

नयाँ कर्जा प्रवाह भने योभन्दा पनि बढी हुनसक्छ । यस अवधीमा कतिपय ऋण सम्झौता तालिकाअनुसार फिर्ता पनि भएको हुन सक्छन । त्यो समायोजन नगर्दा यसअन्तर्गत भएको नयाँ ऋण प्रवाह देखिन सक्छ । तर, त्यस्तो तथ्यांक तयार गरिएको छैन ।

बिशेषगरि शेयर बजार बढ्ने आशामा पछिल्लो समय यसमा लगानी पनि बढेको छ । त्यसले गर्दा यस्तो कर्जाको माग पनि उच्च भएको बैंकहरु बताउँछन् । उत्पादनमूलक र रिटेल क्षेत्रबाट अपेक्षाअनुसार ऋणको माग नभएर बैंकहरुमा तरलता उच्च भएको अवस्थामा बैंकहरुले शेयर किन्न ऋण दिन थालेका हुन् । 

लामो समय शिथिल जस्तै रहेको शेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से) परिसुचक असार १७ यता बढ्न थालेको थियो । असार १७ गते दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारी भएपछि र अर्थमन्त्री बिष्णु पौडेल भएपछि शेयर बजारमा सकारात्मक प्रभाव देखिएको थियो । यद्यपि पछिल्लो समयमा शेयर बजारमा फेरि शिथिलता आउन थालेको छ । 

यसअघि पौडेल अर्थमन्त्री भएकै बेला शेयर बजारले नयाँ रेकर्ड राख्ने गरेको थियो । उनी अर्थमन्त्री बन्ने हल्ला भएपछि सोही मनोविज्ञानका कारण असार १७–१८ देखि नै शेयर बजार बढ्न थालेको थियो । तर, अहिलेसम्म शेयर बजारले नयाँ रेकर्ड नै कायम गर्न सकेको भने छैन । नेप्से परिसुचक तीन हजार विन्दुमा पुगेकोमा अहिले २६–२७ सय हाराहारीमा छ । 

यो बढ्ने र केही समयमै यसअघिको अधिकतम् विन्दु (३२ सय) पार गर्ने आशा शेयर बजार विश्लेषकहरुको  छ । तर नेपालको शेयर बजारमा चलखेल गर्ने विभिन्न स्वार्थ समूह हावी रहेको र उनीहरुले आफ्नो स्वार्थअनुसार बिना कारण बजार घटाउने र बढाउने गर्दै आएको देखिन्छ । उनीहरुलाई नियन्त्रण र कारवाही गर्न नियामक निकायहरु असफल हुँदै आएका छन् । 

पछिल्लो समय शेयर बजारमा दैनिक ७–८ अर्ब रुपियाँसम्मको कारोबार हुने गरेको छ । आज (मंगलबार) पनि चार अर्ब रुपियाँको शेयर कारोबार भएको छ भने नेप्से २६ अंकले बढेर २६६५ विन्दुमा पुगेको छ । उच्च कारोबार रकमले आगामी दिनमा शेयर बजार बढ्ने संकेत देखिए पनि भरपर्ने आधार भने छैन् । 

लगानीकर्ताले बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी गर्न थालेकाले बजार बढ्नसक्ने अडकल गरिएको हो । सोही कारण भदौमा शेयर कर्जाको माग उच्च भएको बैंकहरु बताउँछन् । एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले पनि पछिल्लो समय शेयर खरीद प्रयोजनका लागि कर्जाको माग बढ्दो रहेको बताए । असोजमा पनि यस्तो कर्जाको माग उच्च नै भएको बैंकहरुको भनाइ छ । तर, त्यसको तथ्यांक तयार भइसकेको छैन । 

नेप्सेमा सूचीकृत कम्पनीहरुको शेयर किन्न बैंकहरुले लगानीकर्तालाई शेयर धितोमा ऋण दिन्छन्, जसलाई मार्जिन प्रकृतिको कर्जा भनिन्छ ।
तथ्यांकअनुसार गत असारमा दुई अर्ब ९८ करोड र साउनमा एक अर्ब ३५ करोड रुपियाँले बढेको थियो । त्यसअघि जेठमा भने एक अर्ब १६ करोड रुपियाँ बराबरको यस्तो कर्जा प्रवाह भएको देखिन्छ । यसरी बिगतका तीन महिनाको तुलनामा पनि भदौमा शेयर कर्जाको माग उच्च देखिन्छ ।

असोजसम्म आउँदा बैंक तथा वित्तीय संस्थाहरुले शेयर खरीद गर्ने प्रयोजनका लागि लगानीकर्तालाई दिएको कुल कर्जा ९९ अर्ब ७४ करोड ७० लाख रुपियाँ पुगेको छ । त्यसमा बाणिज्य बैंकहरुले मात्रै ७९ अर्ब १४ करोड १० लाख रुपियाँ ऋण दिएका छन् । यसैगरि, विकास बैंकहरुले १६ अर्ब ३२ करोड १० लाख रुपियाँ र वित्त कम्पनीले चार अर्ब २८ करोड ५० रुपियाँ यस्तो कर्जा प्रवाह गरेको तथ्यांकमा देखिन्छ । समिक्षा महिनामा बाणिज्य बैंकले सात अर्ब ४४ करोड ८० लाख, विकास बैंकहले ६३ करोड ९० लाख र वित्त कम्पनीले २१ करोड ७० लाख रुपियाँले यस्तो कर्जा प्रवाह बढाएका छन् । 

गत आवभरमा १३ अर्ब ५५ करोड रुपियाँले यस्तो कर्जा बढेको देखिन्छ । २०८० असारसम्म यस्तो कर्जा प्रवाह ७६ अर्ब ५३ करोड ५० लाख रुपियाँ थियो । २०८१ असारसम्म आउँदा त्यो ९० अर्ब रुपियाँ पुगेको थियो । चालु आवको दुई महिनामा भने नौ अर्ब ६५ करोड ३९ लाख रुपियाँले यस्तो कर्जा बढेर झण्डै एक खर्ब नजिक पुगेको छ ।

Advertisement

Advertisement