वाणिज्य बैंकहरुमा एक खर्ब ३३ अर्ब निक्षेप बढ्यो, कर्जाको माग कम हुँदा निक्षेप बोझ बन्दै !

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुमा राखिने निक्षेप असोज महिनामा मात्रै एक खर्ब ३३ अर्ब ५५ करोड रुपियाँले बढेको छ । नेपाल बैंकर्स संघबाट प्राप्त असोज महिनाको कर्जा–निक्षेप सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । 

हाल नेपाली बजारमा २० वाणिज्य बैंक छन् । भदौ मसान्तसम्म उक्त बैंकहरुमा ५७ अर्ब ८८ अर्ब ५७ करोड रुपियाँ निक्षेप थियो । असोज मसान्तसम्म आउँदा त्यो बढेर ५९ खर्ब २२ अर्ब १२ करोड रुपियाँ पुगेको छ ।

Advertisement

असोज १–११ गते सम्ममा ४३ अर्ब १४ करोड रुपियाँ, असोज १२–१८ गतेसम्ममा ६१ अर्ब ५१ करोड रुपियाँ, असोज १९–२५ सम्ममा आठ अर्ब ८८ करोड रुपियाँ र असोज २६–३० गतेसम्ममा २३ अर्ब ७१ करोड रुपियाँले निक्षेप बढेको छ । 

मुख्यतः सरकारको खर्च उच्च हुँदा निक्षेप बढेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असोजमा मात्रै सरकारले एक खर्ब ९१ अर्ब ६४ करोड ८४ लाख रुपियाँ खर्च गरेको छ । सरकारी खर्च अनिवार्य रुपमा बैंकिङ माध्यमबाट गर्नुपर्छ । त्यो अवस्थामा असोजमा सरकारी खर्च धेरै हुदाँ बैंकरुको निक्षेप पनि उच्च दरमा बढेको बैंकरहरु बताउँछन् । 

यसैगरी चाडपर्व लगायतका कारण पछिल्लो समय रेमिट्यान्स आप्रवाह पनि बढ्दै छ । त्यसले गर्दा पनि असोजमा निक्षेप उच्च दरमा बढेको देखिन्छ । चालु आवको साउनमा बैंकहरुको निक्षेप ३९ अर्ब रुपियाँले घटेको थियो । भदौमा भने ७३ अर्ब रुपियाँले बढेको थियो । अहिले असोजमा भने एक खर्ब ३३ अर्ब ५५ करोड रुपियाँले निक्षेप बढेको छ । 

निक्षेप बढाउने मामिलामा हिमालयन बैंक पहिलो नम्बरमा रहेको छ । असोजमा उक्त बैंकमा राखिएको निक्षेप २० अर्ब ८६ करोड रुपियाँले बढेको छ । दोस्रो स्थानमा भने ग्लोबल आईएमई बैंक छ, उक्त बैंकमा राखिएको निक्षेप १६ अर्ब ९२ करोड रुपियाँले बढेको छ । तेस्रो स्थानमा नविल बैंक रहेको छ, असोजमा उक्त बैंकमा राखिएको निक्षेप ११ अर्ब ९७ करोड रुपियाँले बढेको छ । 

यस्तै, नेपाल बैंकमा ११ अर्ब चार करोड रुपियाँले निक्षेप बढेको देखिन्छ । राष्ट्रिय वाणिज्यमा नौ अर्ब ५८ करोड रुपियाँ, नेपाल एसबीआई बैंकमा सात अर्ब ८५ करोड रुपियाँ, नेपाल इन्भेष्टमेन्ट मेगामा छ अर्ब ७३ करोड रुपियाँ, माछापुच्छ्रेमा छ अर्ब ५२ करोड रुपियाँ, कृषि विकासमा पाँच अर्ब ९९ करोड रुपियाँ, एनएमबीमा पाँच अर्ब ६७ करोड रुपियाँ र प्रभुमा चार अर्ब ६९ करोड रुपियाँले निक्षेप बढेको छ । 

यस्तै, कुमारीमा चार अर्ब ६५ करोड रुपियाँ, लक्ष्मी सनराइजमा चार अर्ब ५४ करोड रुपियाँ, सिद्धार्थमा चार अर्ब २६ करोड रुपियाँ, सिटीजन्समा तीन अर्ब ८८ करोड रुपियाँ, प्राइम कर्मशियलमा तीन अर्ब २७ करोड, एनआईसी एसियामा तीन अर्ब १७ करोड रुपियाँ, सानिमामा दुई अर्ब १२ करोड र एभरेष्टमा ३५ करोड रुपियाँले निक्षेप बढेको छ । तर, स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप ५१ करोड रुपियाँले घटेको छ । 

यस्तै, असोजमा मात्रै बाणिज्य बैंकहरुको कर्जा प्रवाह ५६ अर्ब ३० करोड रुपियाँले बढेको देखिएको छ । कर्जा बक्यौता (आउटस्टान्डिङ)को आधारमा असोजमा सो अनुपातमा कर्जा बढेको हो । गत भदौ सम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४६ खर्ब २५ करोड ६६ लाख रुपियाँ थियो । असोज मसान्तसम्म आउँदा त्यो ४६ खर्ब ८१ अर्ब ९६ करोड रुपियाँ छ ।

ऋण दिन मिल्ने पैसा कति ? 
५९ खर्ब माथि निक्षेप राखेका वाणिज्य बैंकहरुमा कर्जा दिन मिल्ने रकम भने छ खर्ब ८६ अर्ब रुपियाँ छ । असोज मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५९ खर्ब २२ अर्ब रुपियाँ छ । त्यसमा ४६ खर्ब ८२ अर्ब रुपियाँ कर्जा प्रवाह भइसकेको छ । अहिले उनीहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.४१ प्रतिशत छ । बैंकहरुले सीडी रेसियो ९० प्रतिशतसम्म पुग्ने गरि कर्जा प्रवाह गर्न पाउछन् । त्योअनुसार बाणिज्य बैंकहरुले अझै निक्षेपको ११।५९ प्रतिशत रकम कर्जा प्रवाह गर्न पाउछन्, जुन रकम छ खर्ब ८६ अर्ब रुपियाँ हुन आउँछ ।

बढ्दो निक्षेप बैंकहरुलाई बोझ 
तर, यसरी उच्च मात्रामा निक्षेप बढ्दा बैंकहरुलाई तनाव पनि हुने गरेको छ । निक्षेप राखे बापत बैंकहरुले निक्षेपकर्तालाई निश्चत व्याज दिनुपर्छ । त्यसरी निक्षेपकर्तालाई व्याज बापत दिने रकम बैंकहरुले ऋण लगानी गरेर कमाउनुपर्छ । 

निक्षेपकर्तालाई दिने व्याज भन्दा बढी व्याजदरमा ऋण प्रवाह गरेर बैंकहरुले नाफा पनि कमाउने हो । तर, पछिल्लो समय कायमै रहेको आर्थिक शिथिलताले बैंकहरुमा ऋण लगानीयोग्य पूँजी थुप्रिएको छ । भदौ र असोजमा कर्जा प्रवाह केही बढेपनि निक्षेपको तुलनामा कम नै भएको बैंकहरु बताउँछन् ।

अझै पनि बैंकहरुमा छ खर्ब ८६ अर्ब रुपियाँ ऋण दिन मिल्ने पैसा छ । तर, कर्जाको माग न्यून हुदाँ निक्षेप अनुसार ऋण प्रवाह हुन सकेको छैन । तर, निक्षेपकर्तालाई भने व्याज दिन परिरहेको छ । फलस्वरुप बैंकहरुको नाफा कमाउने क्षमता पनि कम्जोर बन्ने देखिन्छ । त्यस अनुसार कतिपय अवस्थामा बढ्दो निक्षेप बोझ पनि हुने गरेको बैंकरहरु बताउँछन् । 

पछिल्लो समय ब्याजदर समेत कम गरिंदै छ । तर, अहिले निक्षेप कायम राख्न सकेमा बैंकहरुलाई कर्जाको माग भएको बेलामा सहज हुने पनि उनीहरुको तर्क छ ।
 

Advertisement

Advertisement