चाडपर्वले बैंकहरुलाई राहत, दशैंको महिनामा रु. ५६ अर्बले बढ्यो कर्जा प्रवाह

Advertisement

काठमाडौं । बडा दशैं भएको महिना अर्थात् असोजमा बाणिज्य बैंकहरुको कर्जा प्रवाह ५६ अर्ब रुपियाँले बढेको छ । कर्जा बक्यौता (आउटस्टान्डिङ)को आधारमा असोजमा कर्जा प्रवाह ५६ अर्ब रुपियाँले बढेको हो । 

हाल नेपालमा २० बाणिज्य बैंक छन् । गत भदौ मसान्तसम्म बाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४६ खर्ब २६ अर्ब रुपियाँ थियो । असोज मसान्तसम्म आईपुग्दा त्यो ४६ खर्ब ८२ अर्ब रुपियाँ पुगेको छ । 

Advertisement

नेपाल बैंकर्स संघबाट प्राप्त असोज महिनासम्मको तथ्यांकले यस्तो देखाएको हो । आर्थिक शिथिलताका कारण लामो समयदेखि कर्जाको माग न्यून थियो । बैंकहरुमा कर्जा लगानीयोग्य पुँजी थुप्रिएर बसेका थिए । तर, चाडपर्वका कारण भदौयता कर्जाको माग केही उच्च देखिएको छ । 

गत जेठमा २० अर्ब  रुपियाँ, असारमा २९ अर्ब  रुपियाँ र साउनमा दुई अर्ब रुपियाँले मात्रै कर्जा प्रवाह बढेको थियो । तर, भदौमा एकै पटक ५३ अर्ब रुपियाँले कर्जा प्रवाह बढेको थियो । अहिले असोजमा पनि ५६ अर्ब रुपियाँले कर्जा प्रवाह बढेको संघको तथ्यांकले देखाएको छ । 

तथ्यांकअनुसार असोज १–११ गतेसम्ममा १४ अर्ब २६ करोड रुपियाँ, असोज १२–१८ गतेसम्ममा १७ अर्ब २३ करोड रुपियाँ, असोज १९–२५ गते सम्ममा दुई अर्ब ८१ करोड रुपियाँ र असोज २६ देखि असोज ३० गतेसम्म २२ अर्ब ७५ करोड रुपैयाँले कर्जा बढेको छ । 

समीक्षा महिनामा बाणिज्य बैंकहरुमा भने एक खर्ब ३३ अर्ब रुपियाँ निक्षेप थपिएको छ । असोजमा प्रवाह भएको कर्जा थपिएको निक्षेपको ४२.१० प्रतिशत हो । निक्षेपको आधारमा कर्जा प्रवाह कम नै हो । तर, बिगतका महिनामा कर्जा प्रवाह बढेको देखिन्छ । 

विशेषगरि, दशैंका कारण कर्जाको माग बढेको बताइन्छ । यसपाली असोज २६ गते दशैं रहेको थियो । दशैं मनाउन हिन्दू नेपालीहरुले किनमेल बढी गर्छन् । त्यसलाई दृष्टिगत गर्दै उद्योगी व्यापारीहरुले उपभोक्ताको मागअनुसार सामानहरु जुटाउन बैंकबाट कर्जा लिएर व्यापारमा लगानी गरेको थिए । 

यो बेला व्यापारीहरुले बैंकबाट ऋण लिएर चिन, भारत लगायतका देशबाट कपडा, खाद्यान्न लगायतका सामान आयात गर्छन् । यसैगरि उपभोक्ताहरुबाट पनि कर्जाको माग बढेको बैंकहरुको भनाइ छ । यसैगरि सवारी साधान खरीद र शेयर खरीद प्रयोजनका लागि पनि कर्जाको माग बढेको बैंकरहरु बताउँछन् । 

पछिल्लो समय कायम आर्थिक शिथिलताले कर्जाको माग बढ्न सकेको थिएन । यसले गर्दा बैंकहरुमा ऋण लगानी रकम थुप्रिएको थियो । तर, चाडपर्वका कारण कर्जा माग बढेको देखिन्छ । यद्यपि, अझै पनि बाणिज्य बैंकहरुमा छ खर्ब ८६ अर्ब रुपियाँ लगानीयोग्य रकम छ । 

असोज मसान्तसम्म बाणिज्य बैंकहरुको कुल निक्षेप ५९ खर्ब २२ अर्ब रुपियाँ छ । त्यसमा ४६ खर्ब ८२ अर्ब रुपियाँ कर्जा प्रवाह भइसकेको छ । अहिले उनीहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.४१ प्रतिशत छ । बैंकहरुले सीडी रेसियो ९० प्रतिशतसम्म पुग्ने गरि कर्जा प्रवाह गर्न पाउछन् । त्योअनुसार बाणिज्य बैंकहरुले अझै निक्षेपको ११।५९ प्रतिशत रकम कर्जा प्रवाह गर्न पाउछन्, जुन रकम छ खर्ब ८६ अर्ब रुपियाँ हुन आउँछ । 

असोज महिनामा कर्जा प्रवाह बढाउने मामिलामा ग्लोबल आईएमई बैंक पहिरो नम्बरमा देखिएको छ । असोजमा उक्त बैंकले १२ अर्ब ३८ करोड रुपियाँले कर्जा प्रवाह बढाएको छ । 

दोस्रो स्थानमा भने कुमारी बैंक रहेको छ, उक्त बैंकले असोजमा नौ अर्ब पाँच करोड रुपियाँले कर्जा प्रवाह बढाएको देखिन्छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय बाणिज्य बैंकले छ अर्ब ३४ करोड रुपियाँले कर्जा प्रवाह बढाएको संघको तथ्यांकमा उल्लेख छ ।

यस्तै, लक्ष्मी सनराइजले चार अर्ब ७४ करोड रुपियाँ, सिद्धार्थले चार अर्ब ६३ करोड रुपियाँ, नविलले चार अर्ब चार करोड रुपियाँ, एभरेष्टले तीन अर्ब ४२ करोड रुपियाँ, नेपालले तीन अर्ब दुई करोड रुपियाँ, स्ट्यान्डर्ड चार्टर्डले दुई अर्ब ४० करोड रुपियाँ र प्राइम कमर्सियलले दुई अर्ब २९ करोड रुपियाँले कर्जा प्रवाह बढाएको देखिन्छ । 
यसैगरि सिटीजन्सले एक अर्ब ९९ करोड रुपियाँ, कृषि विकासले एक अर्ब ९४ करोड रुपियाँ, माछापुच्छ्रे एक अर्ब ८९ करोड रुपियाँ, सानिमाले एक अर्ब ५० करोड रुपियाँ, नेपाल एसबिआईले ९० करोड रुपियाँ, एनएमबिले ८६ करोड रुपियाँ र एनआईसीले एसियाले ४४ करोड रुपियाँले कर्जा बढाएका छन् । 

तर, भदौमा पहिलो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्टले असोजमा भने कर्जा प्रवाह बढाएको देखिन्न । समीक्षा महिनामा उक्त बैंकको कर्जा प्रवाह तीन अर्ब १४ करोड रुपियाँले घटेको छ । भदौ महिनामा उक्त बैंकले १२ अर्ब १७ करोड रुपियाँले कर्जा प्रवाह बढाएको थियो, जुन अन्य बैंकको तुनलामा धेरै थियो । तर, असोजमा उक्त बैंकको कर्जा प्रवाह घटेको छ । 

यसैगरि प्रभु बैंकको कर्जा प्रवाह पनि एक अर्ब ८० करोड रुपियाँले घटेको छ । यसका अलावा हिमालयन बैंकको कर्जा प्रवाह पनि ५९ करोडले घटेको तथ्यांकमा उल्लेख छ । भदौमा पनि प्रभुको नौ करोड रुपियाँ र  हिमालयनको १२ करोड रुपियाँले कर्जा प्रवाह घटेको थियो । 

भदौमा सिद्धार्थको १५ करोड  रुपियाँ, नेपाल एसबीआईको ६६ करोड रुपियाँ, स्ट्यान्डर्ड चार्टर्डको एक अर्ब ६४ करोड  रुपियाँ र एनआईसी एसियाको तीन अर्ब ७७ करोड रुपियाँले कर्जा प्रवाह घटेको थियो । तर, असोजमा उक्त बैंकहरुले कर्जा प्रवाह बढाएको तथ्यांकले उल्लेख छ ।

Advertisement

Advertisement