राजस्व वृद्धि गर्न अर्थमन्त्री पौडेलले कर्मचारीमाथि दबाब दिइरहेका छन् ?

Advertisement

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले राजस्व वृद्धिमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रत्यक्ष वा परोक्ष रुपमा राजस्व विभाग र सम्बन्धित कर कार्यालयहरुलाई दबाब दिइरहेका बताएका छन् । गत हप्ता मात्र अर्थमन्त्रालयका सचिव, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक लगायत कर कार्यालयका प्रमुखहरुलाई सिंहदरबारमा डाकेर अर्थमन्त्री पौडेलले राजस्व वृद्धिमा केन्द्रित हुन निर्देशन दिएका थिए । सोही नीति अनुरुप राजस्व वृद्धिमा आफुहरुमाथि दबाब रहेको महानिर्देशक आचार्यले बताएका हुन् ।

‘राजस्व संकलनमा अर्थमन्त्री ज्यूको विशेष चासो रहेको छ । हामीले पनि जतिसक्दो राजस्व संकलनमा ध्यान केन्द्रित गरिरहेका छौं । आर्थिक वर्षका लागि ७ सय अर्ब ( ७ खर्ब) रुपियाँ बराबरको राजस्व उठाउनुपर्ने छ । लक्ष्य भेट्ने गरी मातहतका कार्यालयहरुलाई निर्देशन गरिसकिएको छ’ आचार्यले कर्पोरेट नेपालसँग भने ।

Advertisement

चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म आन्तरिक राजस्वतर्फ एक खर्ब ३४ अर्ब २५ करोड राजस्व संकलनको लक्ष्य राखिएको थियो । जसमध्ये समीक्षा अवधिमा एक खर्ब १३ अर्ब ८ करोड रुपियाँ राजस्व संकलन भएको विभागले जनाएको छ । लक्ष्यको ८४.२३ प्रतिशतको उपलब्धी उत्साहजनक नै रहेको महानिर्देशक आचार्यले बताए । 

तथापि, आर्थिक वर्षका लागि राखिएको कूल राजस्व संकलनको लक्ष्य भेट्न विभागले निकै कसरत गरिरहेको बताउँदै आफु मातहतका कर कार्यालयहरुलाई समेत परिचालन गरिएको उनले बताए । मासिक भ्याट संकलनका लागि आज कात्तिक २५ गते अन्तिम दिन रहेपनि अघिल्लो दिन सार्वजनिक विदा रहेको र विशेष चाडपर्वले अपेक्षित राजस्व संकलन हुन नसकेको उनले बताए । तथापि, यो महिना भ्याट बापत के कति राजस्व संकलन भयो, सो तथ्यांक भने आउन बाँकी नै रहेको उनले बताए ।

‘कर संकलन र राजस्व चुहावट रोक्नकै लागि विभागले विविध नीतिहरु अवलम्बन गरिरहेको छ । डिजिटल ट्रान्जेक्सनमा १० प्रतिशत भ्याट रिटर्न यसैको रणनीति हो’ महानिर्देशक आचार्यले भने, ‘डिजिटल कर भूक्तानीलाई प्रोत्साहन गर्दा डिजिटल प्रविधिको मात्र प्रोत्साहन हुँदैन यसले कर चुहावटलाई पनि नियन्त्रण गर्छ ।’ 

विभागले डिजिटल कर चुक्तामा १० प्रतिशत भ्याट रिटर्नको नीति अघि सारेको छ । 

यस्तै कर संकलन वृद्धि र राजस्व नियन्त्रणकै लागि विभागले पछिल्लो समय आयकर, अन्तःशुल्क छली र मूल्य अभिवृद्धि कर (भ्याट) छलीको सुक्ष्म अध्ययन अनुसन्धान समेत गरिरहेको जनाएको छ । नक्कली अन्तःशुल्क स्टिकरदेखि नक्कली भ्याट बिल प्रयोग गरी कर छली गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन विभागले अप्रेशन नै शुरु गरिसकेको विभागका महानिर्देशक आचार्यले जानकारी दिए । 

Advertisement

Advertisement