काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म युनिलिभर नेपालको नाफा सामान्य घटेको देखिएको छ ।
कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा ५२ करोड ६९ लाख रुपियाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ५५ करोड २५ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको तुलनामा यो ४.६३ प्रतिशतले कम हो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब २५ करोड ४५ लाख रुपियाँ छ, जुन गत आवमा २ अर्ब ३२ करोड ५१ लाख रुपियाँ थियो ।
चालू आवको पहिलो त्रैमाससम्म कम्पनीको अन्य आम्दानी २ करोड ६७ लाख रुपियाँ रहेको छ भने कुल आम्दानी २ अर्ब २८ करोड १२ लाख रुपियाँ छ । गत वर्षको सोही अवधिमा कम्पनीको अन्य आम्दानी २ करोड ७९ लाख रुपियाँ र कुल आम्दानी २ अर्ब ३५ करोड ३० लाख रुपियाँ थियो ।
९ करोड २१ लाख रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ५ अर्ब २८ करोड १३ लाख रुपियाँ रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५७२ रुपियाँ , प्रतिशेयर नेटवर्थ ५ हजार ३३७ रुपियाँ र मूल्य आम्दानी अनुपात २५० गुणा छ ।