पोखरा । सहारा क्लबद्वारा पोखरा रङ्गशालामा भइरहेको १४ औँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमी फाइनल खेलमा लक्ष्मी हुन्डाइ मनाङ मस्र्याङ्दी क्लबले रमपम झापा–११ लार्ई ४–० ले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
मनाङ मस्र्याङ्दीका बोलावालेले आजको खेलमा ह्याट्रिक गरेका थिए । बोलावालेले खेलको ४६, ७१ र ९४ मिनेटमा गोल गरेका थिए भने अर्का खेलाडी सुजल श्रेष्ठले खेलको ७५औँ मिनेटमा गोल गरी क्लबलाई विजयी गराएका थिए ।
फाइनल खेल आगामी शनिबार त्रिभुवन आर्मी क्लब र लक्ष्मी हुन्डाइ मनाङ मस्र्याङ्दी क्लबबीच हुनेछ । त्रिभुवन आर्मी क्लबले बुधबार आयोजक सहारा क्लब पोखरालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।