काठमाडौं । कोका–कोला नेपाल, अखिल नेपाल फुटबल संघ (एन्फा) र युवा तथा खेलकुद मन्त्रालयले संयुक्तरुपमा कोका–कोला कप फुटबलको २०७३ संस्करण अयोजना गर्ने घोषणा गरेका छन् ।
छात्र तर्फका ११२ विद्यालयका करिब दुई हजारभन्दा बढी विद्यार्थी सहभागी हुने यो प्रतियोगिता देशकै सबैभन्दा ठूलो ग्रासरुट स्तरको अन्डर १६ फुटबल प्रतियोगिता भएको जनाइएको छ । यो संस्करण एन्फासंग आवद्ध ४३ जिल्लामा सञ्चालन हुनेछ ।
कोकाकोला कम घोषणा कार्यक्रममा शुक्रबार युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, नेपाल खेलकुल परिषद्का सदस्यसचिव केशव विष्ट र बोटलर्स नेपालका कार्यकारी निर्देशक पुनित भर्सने सहभागी थिए । यो प्रतियोगिता अब हरेक वर्ष आयोजना हुन्छ । यसमा एन्फाले सञ्चालित विशेष प्रशिक्षण कार्यक्रममा खेलाडीहरुलाई भाग लिने मौकासमेत प्रदान गर्नेछ ।
एन्फा प्रतिनिधिले प्रत्येक खेल हेरी उत्कृष्ट खेलाडी छनोट गरेर राष्ट्रिय प्रशिक्षकहरुबाट एन्फामा प्रशिक्षण प्रदान गर्नेछन । कोकाकोला कमका उत्कृष्ट टिम र उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको घोषणा गरिएको छ ।
छात्रतर्फको विजेताले तीन लाख रुपियाँ पाउने छन् भने पहिलो, दोस्रो र तेस्रो रनर–अपले क्रमशः एक लाख ५० हजार, ७५ हजार र ५० हजार रुपियाँ नगद पुरस्कार पाउनेछन् । छात्रा तर्फका विजेताले दुई लाख पाउने छन् भने पहिलो, दोस्रो र तेस्रो रनर–अपले क्रमशः एक लाख, ५० हजार, २५ हजार रुपियाँ नगद पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।
सबैभन्दा उन्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर र फर्वडको लागि व्यक्तिगत पुरस्कारको पनि व्यवस्था गरिएको छ । प्रतियोगिताभरि उदरणीय खेल भावना देखाउने खेलाडी र टिमको लागि कोका–कोलाले विशेष पुरस्कारको स्थापित गरेको छ ।