मुख्यसचिव ११ सँग प्रधानमन्त्री ११ पराजित, ओलीले पेनाल्टी 'मिस' गरे

Advertisement

काठमाडौं । नवौँ गणतन्त्र दिवसका उपलक्ष्यमा प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच मैत्रीपूर्ण फुटबल खेलमा प्रधानमन्त्री ११ पराजित भएको छ । 
    
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार सम्पन्न खेलमा मुख्य सचिवको टोलीले प्रधानमन्त्रीको टोलीलाई ३–२ गोलअन्तरले पराजित गर्यो ।
    
खेल २–२ को बराबरीका अवस्थामा अन्तिम समयमा पाएको प्यानल्टी किक प्रधानमन्त्री केपी ओलीले विपक्षी टोलीका गोलकिपरले बचाएपछि प्रधानमन्त्री टोली बराबरी गर्नबाट चुक्यो ।
    
यसअघि मुख्यसचिव टोलीका तर्फबाट सिँचाइ मन्त्रालयका सचिव अनुप उपाध्यायले २ तथा लोकसेवा आयोगका सचिव माधव रेग्मीले १ गोल गरेका थिए । त्यस्तै प्रधानमन्त्री टोलीकातर्फबाट कानुन न्याय तथा संंसदीय मामिलामन्त्री अग्नि खरेल र श्रम तथा रोजगारमन्त्री दीपक बोहोराले १÷१ गोल गरे पनि जितका लागि पर्याप्त भएन ।
    
प्रधानमन्त्री ११ टोलीमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्रीद्वय भीमबहादुर रावल, टोपबहादुर रायमाझी, मन्त्री शक्तिबहादुर बस्नेत, एकनाथ ढकाल, सत्यनारायण मण्डल, सोमप्रसाद पाण्डेय, शेरधन राई, गणेशमान पुन थिए । 

मुख्यसचिव ११ टोलीमा मुख्यसचिव सोमलाल सुवेदीसहित सचिव चन्द्रकुमार घिमिरे, टङ्कमणि शर्मा, सूर्य सिलवाल, नारायणगोपाल मलेगो, लक्ष्मण मैनाली, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठ आदि थिए ।  
    
झन्डै पूरै समय मैदानमा बिताएका ओलीले मैत्रीपूर्ण भएकाले हारजितले महत्व नराखेको बताए । उनले भने, “खेल रमाइलो भयो, यसले नेतृत्व गर्न सिकायो, स्वस्थ रहन सिकायो, मुख्य कुरा गणतन्त्र दिवस मनाइयो ।” मुख्यसचिव सुवेदीले भने, “हामीले जित्यौँ तर यो हारजितका लागि थिएन गणतन्त्र दिवसका लागि थियो ।” रासस 

Advertisement

Advertisement

Advertisement