काठमाडौं । आठौँ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको पहिलो दिन एथलेटिक्सतर्फ चार नयाँ विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान बनेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको एक हजार ५०० मिटर दौडको छात्रतर्फ मध्यमाञ्चलका अजितकुमार यादव र छात्रातर्फ मध्यपश्चिमाञ्चलकी मञ्जु रावत तथा छात्र सटपुटमा मध्यपश्चिमाञ्चलका तिलक विक र छात्रा त्रिपलजम्पमा पश्चिमाञ्चलकी विपना परियारले विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे ।
निर्धारित दूरी चार मिनेट १४.५ सेकेन्डमा पूरा गर्दै अजितले २०६० सालमा मध्यमाञ्चलका राधेश्याम कावाले बनाएको ४ मिनेट १७.३० सेकेन्डको कीर्तिमान भङ्ग गरे । पश्चिमाञ्चलका रोहित अधिकारी दोस्रो र पूर्वाञ्चलका प्रकाश दनुवार तेस्रो भए । मञ्जुले निर्धारित दूरी पूरा गर्न पाँच मिनेट १०.४ सेकेन्ड समय लगाइन् ।
मञ्जुले २०७१ सालमा मध्यमाञ्चलकी सङ्गीता खड्काले स्थापित गरेको पाँच मिनेट १२ सेकेन्डको कीर्तिमानलाई विस्थापित गरेकी हुन् । पूर्वाञ्चलकी दीपा बस्नेत दोस्रो र मध्यपश्चिमाञ्चलकी निर्मला केसी तेस्रो बने ।
सटपुटमा कीर्तिमान बनाएका तिलकले १४.५४ मिटर टाढा फाले । मध्यमाञ्चलकै प्रशान्त महतोको नाममा १४.१२ मिटर को कीर्तिमान थियो । प्रशान्तले उक्त कीर्तिमान २०५६ सालमा कायम गरेका थिए । पश्चिमाञ्चलका वसन्त गुरुङ दोस्रो र मध्यमाञ्चलका वीरेन्द्र चौधरी तेस्रो स्थानमा रहे ।
विपनाले १०.५२ मिटर जम्प गर्दै मध्यपश्चिमाञ्चलकी केशरी चौधरीले २०६३ सालमा बनाएको १०.२२ मिटरको कीर्तिमान तोडिन् । केशरी यो स्पर्धाकी राष्ट्रिय कीर्तिमानधारी हुन् । १२.२० मिटर को राष्ट्रिय कीर्तिमान केशरीको नाममा यथावत् छ । मध्यमाञ्चलकी जस्ता महतो दोस्रो र पूर्वाञ्चलकी रीना रावल तेस्रो भइन् ।
छात्रा सटपुटमा पश्चिमाञ्चलकी बसन्ती बुढा पहिलो भइन् । बसन्तीले १०.०३ मिटर टाढा फ्याँकिन् । मध्यपश्चिमाञ्चलकी सीता बुढा दोस्रो भइन् भने पूर्वाञ्चलकी विनिता राई तेस्रो बनिन् । छात्र त्रिपलजम्पमा पहिलो भएका मध्यमाञ्चलका भुवन महतोले १३.५९ मिटर टाढा फ्याके । मध्यपश्चिमाञ्चलका सियाराम थारु दोस्रो र महेन्द्र विक तेस्रो भए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको सो प्रतियोगितामा विभिन्न आठ खेलमा पाँच विकास क्षेत्रबाट सात सय २७ खेलाडीले ५३ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।
कराते
छात्रा एकल कातामा पश्चिमाञ्चलकी विमला नेपाली पहिलो भइन् । सो स्पर्धाको पुरुषमा पश्चिमाञ्चलका सुजन नेपालीले पूर्वाञ्चलका रोशन गुरुङलाई हराउदै शीर्ष स्थान हात पारे । त्यस्तै, पुरुष ४२ केजीमा मध्यमाञ्चलका साजन लामा पहिलो भए ।
भलिबल
मध्यमाञ्चल क्षेत्रले आठौँ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भलिबलको छात्रतर्फ दोहोरो जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगितामा मध्यमाञ्चलले पहिलो खेलमा पूर्वाञ्चललाई तथा दोस्रो खेलमा मध्यपश्चिमलाई पराजित गर्दै समूह ‘ख’बाट पहिलो हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
लिग कम नकआउटको आधारमा भएको प्रतियोगिताको अर्को खेलमा पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई पराजित गर्दै समूह ‘क’बाट सेमिफाइनलमा स्थान बनाउन सफल भयो । पराजय हुँदाहुँदै पनि सुदूरपश्चिम सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।
छात्रातर्फको खेलमा मध्यमाञ्चल समूह ‘क’बाट पहिलो हुँदै अन्तिम चारमा स्थान बनाउन सफल भयो । मध्यमाञ्चलले सुदूरपश्चिमलाई पराजित गरेको थियो । उक्त समूहमा दुई टोली मात्र भएकाले सुदूरपश्चिम पनि सेमिफाइनलमा पुग्यो । अर्को खेलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई पराजित ग¥यो ।
कबड्डी
मध्यमाञ्चल क्षेत्र छात्रतर्फ पूर्वाञ्चल क्षेत्रलाई पराजित गर्दै आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेको छ । लिग कम नकआउटको आधारमा खेलाइएको प्रतियोगिताको छात्रा तर्फ सुदूरपश्चिमाञ्च क्षेत्रले मध्यपश्चिमाञ्चल क्षेत्रलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको हो ।
उसु
उसुको छात्रतर्फ छाङ छ्वान्मा मध्यमाञ्चलका आशिष राई पहिलो भए भने मध्यमाञ्चलकै दिलीप घले दोस्रो तथा सुदूरपश्चिमाञ्चलका रविन चौधरी तेस्रो बने । सो स्पर्धाको छात्रामा मध्यमाञ्चलकी सपना मोक्तान पहिलो, मध्यमाञ्चलकै अनु राई दोस्रो र सुदूरपश्चिमाञ्चलकी एलिसा खाती तेस्रो भए ।
पुरुष नान् छ्वान्मा मध्यमाञ्चलका अजय तामाङ पहिलो, मध्यमाञ्चलका सरोज पुन दोस्रो तथा पूर्वाञ्चलका उज्ज्वल राई तेस्रो भए ।
तेक्वान्दो
महिला ४२ केजीमुनि पूर्वाञ्चलकी विनिता घिमिरे, पश्चिमाञ्चलकी आस्था शर्मा, मध्यमाञ्चलकी योगमाया श्रेष्ठ र मध्यपश्चिमाञ्चलकी प्रमिला थापा सेमिफाइनलमा पुगे । त्यस्तै, ४६ केजीमुनि मध्यमाञ्चलकी आयशा लामा, पूर्वाञ्चलका प्रबिता राई र चाँदनी तामाङ तथा मध्यपश्चिमाञ्चलकी अनु थारु सेमिफाइनलमा पुगे ।
त्यसैगरी, पुरुष ५१ केजीमुनि मध्यपश्चिमाञ्चलका वृजालाल बुढा, पूर्वाञ्चलका सुरज मगर, सुदूरपश्चिमाञ्चलका नरेश मालासी तथा मध्यमाञ्चलका बर्सात मोक्तान सेमिफाइनलमा पुगे । अन्य तीन तौलसमूहको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । रासस