'कृषि अनुदान उपलब्ध गराइदिन्छु’ भन्दै २० लाख ठगेर फरार

Advertisement

बनियानी, झापा: ‘कृषि अनुदान उपलब्ध गराइदिन्छु’ भन्दै एक जनाले कृषकबाट रु २० लाखभन्दा बढी ठगी गरेकोे छ ।

इलाम घर बताउने विनोद राईले डेनमार्क सरकारबाट प्राप्त कृषि अनुदानको प्रलोभन देखाएर रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका २८ जना कृषकबाट उक्त रकम ठगी गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जनाकारी दिए ।

“कृषकलाई बंगुरपालन, कुखुरापालन, गाईपालन, अलैँची खेती लगायतका शीर्षकमा अनुदान मिलाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको छ”– प्रनि विष्टले भने , “मोटो रकमको प्रलोभन देखाएर ठगी गरेको पाइएको छ ।”

पीडक विनोद राईले आफ्नो नाम, ठेगाना गलत बताएको पनि उनले बताए । “हामीले पीडक राईको परिचयपत्र फेला पारेका छौँ”– प्रहरी निरीक्षक विष्टले भने , “अनुसन्धान भइरहेको छ, छिट्टै दोषी समातिन्छ ।”

घटना विवरणअनुसार गत शुक्रबार विर्तामोडमा कृषकलाई बोलाएर प्रतिव्यक्ति रु २० हजारदेखि रु एक लाख लिएर फरार भएको पीडित पुरन राईले बताए ।

विनोदले आफूहरुलाई विश्वासमा लिएर ठगी गरेको बताउँदै उहाँले भन्नुभयो, “डेनमार्क सरकारले अनुदान दिन्छ भनेर राम्रो कृषकको खोजी गर्दै विनोदले एक महिनासम्म लगातार आएर अलैँचीे बिरुवाको उचाइ, गोलाइ नाप्ने गरेको थियो । हामी विश्वासमा प¥र्यौं, मान्छे ठग रहेछ थाहै पाएनौं ।”

कृषि उत्पादनको बृहत् योजना बाँड्दै बसेका राईले अनुदानका लागि आफैँले अशायपत्र (प्रपोजल) समेत बनाइदिएका थिए । त्यसवापत हरेक किसानबाट रु ५०० शुल्क लिएको पीडित पुरनले बताए । अशायपत्र स्वीकृत पाएका किसानले तीन प्याकेजमा रु तीन लाख, रु छ लाख र रु १२ लाख अनुदान पाउने आश्वासन पाएको पीडितको भनाइ छ ।

अनुदानबापत किसानले अग्रीम २० प्रतिशत रकम बुझाउनुपर्ने शर्त थियो । सोही शर्तअनुसार कृषकले रकम बुझाएका हुन् । किसानले बुझाएको रकम लिएर राई फरार भएपछि पीडितले इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको छ ।

Advertisement

Advertisement

Advertisement