एजेन्सी। ब्राजिल अप्रत्यासित रुपमा कोपा अमेरिका कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।
नकआउट चरणमा पुग्न ब्राजिललाई समूह चरणको अन्तिम खेलमा जित वा बराबरीमा आवश्यकता थियो । तर, सोमबार विहान भएको खेलमा पेरुसँग १-० को अप्रत्यासित हार व्यहोर्दै ब्राजिल समूह चरणबाटै बाहिरिएको छ ।
पेरुका लागि राउल रुइडायजले ७५ औं मिनेटमा गोल गरे । उनले हातले गोल गर्न पुगेका थिए, तर, रेफ्रीले त्यसलाई गोलको मान्यता दिए ।
ब्राजिलमाथि पेरुले जित हात पारेको यो १९८५ पछि पहिलो पटक हो । र, यो कुनै पनि सानो दक्षिण अमेरिकी देशले छिमेकी फुटबल जाइन्टलाई हराएको यो चौथो पटक हो ।
जितसँगै पेरु समूह बीको विजेता बन्दै नकआउट चरणमा पुगेको छ भने इक्वेडर समूह उपविजेता भएको छ ।