काठमाडौं । युरो २०१६ को पहिलो सेमीफाइनल फूटबल खेलमा पोर्चुगलले वेल्सलाई २(० गोल अन्तरले हराउँदै फाइनलमा पुग्न सफल भएको छ । अब उसले आयोजना फ्रान्स वा विश्व विजेता जर्मनीको सामना गर्नुपर्नेछ ।
खेलको पहिलो हल्फ़मा कुनै पनि गोल नभएपनि दोस्रो हाफको सुरुवाती ५० औं र ५३ औं मिनेटमा रोनाल्डो र नानीले एक(एक गोल गरेका हुन । रोनाल्डोले हेडमार्फत गोल गरेका थिए । वेल्सका लागि ग्यारेथ बेलले गोल गर्ने प्रयास गरे पनि पोर्चुगलका गोल किप्परले त्यसको बचाऊ गरेका थिए ।
पहिलो पटक युरो कपको सेमिफाइनलसम्मको ऐतिहासिक यात्रा गरेको वेल्सको फाइनलमा पुग्ने सपना भने अधुरै रहेको छ । युरो कपमा पोर्चुगल फाइनलमा पुगेको यो छैठौं पाटक हो भने विगत १२ वर्षमा दोस्रो पटक हो । सन् २००४ मा आफैले आयोजना गरेको यूरोकपको फाइनलमा पोर्चुगल ग्रिससँग पराजित भएको थियो ।
आजको खेलमा दुई पटक एल्लो कार्ड पाएर वेल्सका मिडफिल्डर आरोन राम्से बाहिरिएका थिए । क्वाटरफाइनलमा बेल्जियमलाई ३(० ले हराउन सफल भएको वेल्सले सेमिफाइनलमा भने कला कला देखाउन सकेन ।
यता पोर्चुगलले भने पहिलो हाफपछि आफ्नो रणनीतिमा परिवर्तन गर्दै गोल गर्न सफल भएको थियो । खेलको ५०औं मिनेटमा राफायल गुएरेइरोले प्रहार गरेको कर्नरलाई सुपरस्टार रोनाल्डोले पेनाल्टी एरियाबाट हेडमार्फत गोल गरेका थिए भने त्यसको तीन मिनेटमै रोनाल्डोले दिएको पासलाई सदुपयोग गर्दै मिडफिल्डर नानीले अर्को गोल गरेका थिए ।
रोनाल्डोले यस प्रतियोगितामा आफ्नो गोल संख्या तीन पुर्याएका छन् । यसअघि उनले समूह चरणको खेलमा हंगेरीबिरुद्ध दुई गोल गरेका थिए । नानीको पनि गोल संख्या तीन पुगेको छ ।