काठमाडौं । नक्कली चिकित्सकहरुलाई कारवाही गर्दै आएको नेपाल प्रहरीभित्रैका एक चिकित्सक नक्कली भेटिएका छन् । नेपाल प्रहरी अस्पतालमा काम गर्ने वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी)महेशमान प्रधानले आफ्नो शैक्षिक प्रमाणपत्रमा जन्म मिति फरक पारी जागिर खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको छ ।
प्रधानले सन् २००२ को जुन ३ मा प्रमाणपत्र तह र स्नातक तहको प्रमाणपत्रमा जन्म मिति फरक पारेर जागिर खाएका थिए । उनलाई भ्रष्टाचार नियन्त्रण ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ । केही दिनअघि राजधानीलगायत विभिन्न जिल्लाबाट तीन दर्जन नक्कली चिकित्सकहरुलाई प्रहरीले पक्राउ गरी कारवाही अघि बढाइसकेको छ । प्रहरीभित्रका चिकित्सकहरुमा नक्कली भेटिएको संभवत यो पहिलो घटना हो ।