काठमाडौं – आगामी साउन २२ गते शनिबार राजधानीको तिनकुनेमा ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ हुने भएको छ । नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ)को आयोजनामा हुने उक्त च्याम्पियनसिपमा २५० सिसीसम्मका ३० वटा ‘अफरोड डर्ट बाइक राइडर’को सहभागिता रहने छ ।
तिनकुनेमा निर्माण गरिने करिब ५५० मिटरको ‘अफरोड ट्रयाक’मा मोटरसाइकल चालकहरुले आफ्नो रेसिङ कौशल प्रदर्शन गर्ने छन् । अन्तर्राष्ट्रिय तालिमप्राप्त मार्सलहरुको सुपरिवेक्षणमा संचालन गरिने उक्त च्याम्पियनसिपमा भाग लिने खेलाडीहरुलाई समेत रेसिङसम्बन्धी आधारभूत प्राविधिक ज्ञान र निर्देशन प्रदान गरिनेछ ।
प्रतियोगिताका बिजेताहरुलाई नगद, सिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने छ । ‘अफरोड राइड’ रुचाउने बाइक राइडरहरुका लागि यो एउटा उपयुक्त प्लेटफर्म हुने र यसको माध्यमबाट उनीहरुका लागि अन्तर्राष्ट्रिय लेभलको प्रतियोगितामा समेत सहभागी हुने ढोका खुल्नेछ ।
नेपाल जस्तो कठिन भौगोलिक बनोट भएको देशमा यस प्रकारको इभेन्टले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाली युवाहरुका बीचमा अत्यन्तै लोकप्रिय एसिया विङ अन्तर्गतको क्रसफायर बाइकको मूख्य प्रायोजनमा हुने उक्त च्याम्पियनसिपको अन्य प्रायोजकमा यूएम बाइक, टीभीएस टायर, रेडबुल लगायत रहेका छन् ।
जिल्ला खेलकुद विकास समिति काठमाडौं र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)को समेत सहयोग रहेको उक्त च्याम्पियनसिपले अफरोड बाइक राइडिङको क्षेत्रमा नयाँ पहिचान स्थापना गर्ने विश्वास गरिएको छ ।