काठमाडौंः ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार ब्राजिलको राजधानी रियो द जेनेरियोमा सञ्चालन हुने ओलम्पिक २०१६ मा सहभागिता जनाउने खेलाडीका लागि आवश्यक पर्ने जर्सी, ट्रयाकसुटलगायतका सामग्री बैंकले प्रायोजन गर्ने भएको छ ।
सम्झौतामा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एवं व्यवसाय प्रवद्र्धन विभाग प्रमुख प्रसन्न बास्कोटा तथा ओलम्पिक कमिटीको तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौताअनुसार ग्लोबल आईएमई बैंकले ओलम्पिकमा सहभागिता जनाउने राष्ट्रिय टिमका खेलाडी, प्रशिक्षक, टिम म्यानेजरलाई जर्सी, टिसर्ट, क्याप, ट्रयाकसुट तथा स्पोर्ट किट प्रायोजन गर्नेछ ।
ग्लोबल आईएमई बैंकले खेलकुदको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने खेलाडीलाई प्रोत्साहनस्वरूप जर्सी तथा स्पोर्ट किट प्रायोजन गरेको जनाएको छ ।