कलैयाः युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीलेबिहीबार करैयामाई गाउँपालिका–७ पिपरास्थित सिर्जनशील युवा क्लबद्वारा आयोजित दोस्रो पिपरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गरे ।
सो अवसरमा उनले खेलकुदबाट व्यक्तिको मानसिक स्वास्थ्यको विकास हुनाका साथै यसबाट मुलुकको पहिचान बढाउने भएकाले खेलकुदको विकासमा सबैले ध्यान दिन जरुरी छ भने ।
उनले २ नं प्रदेश हरेक क्षेत्रमा पछाडि परेकाले वर्तमान सरकारले यस प्रदेशको विकासका लागि ठोस नीति ल्याउने कुरा बताए ।
आयोजक क्लबका अध्यक्ष वृजमोहन चौधरीको सभापतित्वमा भएको समारोहमा विधायक ज्वाला साह, प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले खेलकुदको महत्वबारे प्रकाश पारे ।
आगामी माघ २० गतेसम्म हुने उक्त प्रतियोगितामा रौतहट, वीरगञ्ज, हेटौँडा, लहान, महोत्तरी, आर्मी क्लबसमेत गरी नौवटा समूहले भाग लिएको प्रतियोगितामा प्रथम हुनेले एक लाख ५० हजार रुपियाँ, दोस्रो हुनेलाई ७५ हजार नगद पुरस्कार जित्ने भएको छ ।