उपेन्द्रमान सिंह एन्फामा उपाध्यक्ष भिडने

Advertisement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले आसन्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) निर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

उनले ‘फुटबलको नेतृत्वमा फुटबलभित्रकै मान्छे आउनुपर्छ’ भनेर आफूले उपाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको बताए । सोमबार पत्रकार सम्मेलन गरी सिंहले राष्ट्रिय टोलीका पूर्वगोलरक्षकसमेत रहेको सुनाए । 

Advertisement

आफूले फुटबल मैदानबाट मुलुकका लागि धेरै योगदान गरेको बताउँदै उनले नीति निर्माणको तहमा पनि काम गर्न इच्छुक रहेको बताए । सिँहले भने, “नेपाली फुटबलको विकासका लागि केही योगदान गर्न सक्छु कि भनेर मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ ।”

फुटबल प्रशिक्षकका रूपमा कार्यरत सिंहको समर्थनमा राष्ट्रिय टोलीका पूर्वकप्तानहरू राजुकाजी, मणि शाह, बालगोपाल महर्जन, हरि खड्कालगायत छन् । अध्यक्ष पदका लागि यसअघि नै वर्तमान कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष कर्माछिरिङ शेर्पा, मनाङ मर्याङ्दी क्लबका पूर्वअध्यक्ष टासी घले, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले उम्मेद्वारी घोषणा गरिसकेका छन् । 

केही वर्षदेखि एन्फाको अध्यक्ष र उपाध्यक्ष पद खाली छ । तत्कालिन अध्यक्ष गणेश थापा भ्रष्टाचार काण्डमा विश्व फुटबल महासङ्घ (फिफा)को प्रतिबन्ध तथा कार्यवाहक अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधनपछि यो पद रिक्त थिए । आगामी कात्तिक ८ गते एन्फाको निर्वाचन हुँदैछ ।

Advertisement

Advertisement