भूमि र कान्छीलाई काठमाडौँ म्याराथनको उपाधि, कान्छीले बनाइन राष्ट्रिय किर्तिमान

Advertisement

काठमाडौंः नेपाल प्रहरीका भूमिराज राई र सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले १०औँ काठमाडौँ म्याराथनको उपाधि जितेका छन् । 

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः रङ्गशालामै आएर सकिएको दौडअन्तर्गत भूमि पुरुष तथा कान्छी महिलाको फुल म्याराथन (४२ दशमलव १९५ किलोमिटर)मा आ–आफ्नो प्रतिद्वन्द्वीलाई उछिन्दै पहिलो भए ।

Advertisement

भूमिले नेपाली भूमिमा भएको म्याराथनमा उत्कृष्ट समय निकाल्ने क्रममा निर्धारित दूरी दुई घन्टा २० मिनेट ४४ सेकेन्डमा पूरा गरे । यसअघि नेपालमा भएको कुनै पनि म्याराथनमा नेपाली खेलाडीले उक्त समयमा दौड पूरा गरेका थिएनन् ।

पुरुष म्याराथनको राष्ट्रिय कीर्तिमान वैकुण्ठ मानन्धरको नाममा छ । उनले भारतमा भएको तेस्रो दक्षिण एसियाली महासङ्घीय खेलकुद (साफ)मा दुई घन्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान बनाएका थिए । यो कीर्तिमान दक्षिण एसियाली खेलकुद (साग)मा अहिलेसम्म वैकुण्ठकै नाममा कायमै छ । 

भूमिको प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँ रोड रनर्स क्लब अल्मुनाइका सल्लाहकार एवम् स्प्रिन्टमा सहभागी हुने पहिलो नेपाली ओलम्पियन रघुराज वन्त र काठमाडौँ म्याराथनका मुख्य योजनाकार निलेन्द्रराज श्रेष्ठले बोनसस्वरुप छुट्टै एक लाख रुपियाँ पुरस्कार प्रदान गर्ने घोषणा गरे ।

नेपाल आर्मीका कृष्ण बस्नेत (दुई घन्टा २१ मिनेट ४६ सेकेन्ड) दोस्रो तथा राजन खत्री (दुई घन्टा २९ मिनेट २२ सेकेन्ड)ले तेस्रो स्थानमा दौड टुङ्ग्याए ।

कान्छीले निर्धारित दूरी दुई घन्टा ५५ मिनेट ५७ सेकेन्ड समयमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरिन् । कान्छीले लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएकी स्वरुपा खड्काले सिकागो म्याराथन–२०१३ मा बनाएको दुई घन्टा ५७ मिनेट १० सेकेन्डको कीर्तिमान तोडेकी हुन् । 

स्वरुपाले २०१४ मा भएको इन्चोन एसियाड र २०१६ मा भारतमा भएको १२औँ सागमा पनि नेपालबाट प्रतिनिधित्व गरेसकेकी छन् । राष्ट्रिय कीर्तिमानबापत कान्छीलाई रोड रनर्स अल्मुनाईले छुट्टै रु ५० हजार पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रो स्पोर्टस्द्वारा आयोजित प्रतियोगितामा आर्मीका सरिता वासी (तीन घन्टा १९ मिनेट ५२ सेकेन्ड) दोस्रो तथा लालकुमारी घर्ती (तीन घन्टा ४४ मिनेट १४ सेकेन्ड) तेस्रो स्थानमा रहे ।

म्याराथन विजेताले रु ५० हजार, उपविजेताले रु २० हजार र तेस्रो हुनेले रु १५ हजार पुरस्कार पाउने छन् । चौथोदेखि दशौँ स्थानमा दौड पूरा गर्नेलाई क्रमशः रु सात, छ, पाँच, चार, तीन, दुई र एक हजार पुरस्कार प्रदान गरिनेछ ।

हाफ म्याराथन (२१.०९७५ किलोमिटर)मा आर्मीको वर्चस्व रह्यो । पुरुष÷महिला दुवैमा आर्मीका खेलाडीले शीर्ष तीन स्थानमाथि कब्जा जमाए ।

पुरुषमा हरिकुमार रिमाल पहिलो भए । उनले निर्धारित दूरी एक घन्टा ८ मिनेट ४७ सेकेन्डमा सिध्याए । ज्ञानप्रसाद भट्टराई (एक घन्टा नौ मिनेट २८.९५ सेकेन्ड) दोस्रो तथा लालबहादुर थापा (एक घन्टा १० मिनेट ३६ सेकेन्ड) तेस्रो बने ।

त्यस्तै महिलामा एक घन्टा २७ मिनेट १९ सेकेन्ड समय खर्चंदै दौड पूरा गरेकी सानुमाया कार्की पहिलो भइन् । पुष्पा भण्डारी (एक घन्टा ३२ मिनेट २३ सेकेन्ड) दोस्रो तथा विन्द्रा देशार श्रेष्ठ (एक घन्टा ३४ मिनेट ४० सेकेन्ड) तेस्रो भए । हाफ म्याराथनमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु २० हजार, १३ हजार र सात हजार पुरस्कार प्राप्त गर्नेछन् ।

पुरुष पाँच किलोमिटर खुला दौडमा रामजी बस्नेत पहिलो भए । उनले १९ मिनेट ०३.२७ सेकेन्ड समय खर्चे । टीकाराम कटवाल (१९ मिनेट १३.२८ सेकेन्ड) दोस्रो तथा छत्र दाहाल (१९ मिनेट ३२.४८ सेकेन्ड) तेस्रो भए । खेलाडीत्रय आर्मीका हुन् ।

सो स्पर्धाको महिलामा आर्मीकी सरस्वती भट्टराई २२ मिनेट ३५.२४ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । सशस्त्रकी फुलमती राना (२३ मिनेट ३०.०२ सेकेन्ड) दोस्रो तथा काठमाडौँकी सन्तोषी श्रेष्ठ (२५ मिनेट ४०.७७ सेकेन्ड) तेस्रो बने । पहिलो हुनेले १० हजार, दोस्रोले रु छ हजार र तेस्रोले चार हजार पुरस्कार हात पार्ने छन् ।

विद्यालयतर्फ पाँच किलोमिटर छात्र दौडमा अजितकुमार यादवले स्वर्ण जिते । उनले २१ मिनेट १९ सेकेन्ड समय लगाए । राजेन्द्र तामाङ २१ मिनेट ४५ सेकेन्ड समयसाथ दोस्रो तथा जगत नेपाली २२ मिनेट ४० सेकेन्ड समयसाथ तेस्रो भए ।

त्यसै स्पर्धाको छात्रामा हुमी बुढा मगरले दूरी २४ मिनेट ५९.६ सेकेन्डमा तय गर्दै पहिलो बनिन् । सङ्गीता खड्का (२५ मिनेट ४८.३ सेकेन्ड) दोस्रो तथा शर्मिला क्षेत्री (२७ मिनेट २९.३ सेकेन्ड) तेस्रो भए । पहिलोले रु पाँच हजार, दोस्रोले तीन हजार र तेस्रोले दुई हजार पुरस्कार जिते ।

कुल पुरस्कार राशि तीन लाख ८६ हजार रुपियाँ रहेको प्रतियोगिताको म्याराथनमा ३१ पुरुष र सात महिला तथा हाफ म्याराथनमा ६६ पुरुष र १७ महिला खेलाडी सहभागी थिए । पाँच किलोमिटरको खुलामा एक हजार २८५ तथा विद्यालयमा एक हजार ४२८ खेलाडीले भाग लिएका थिए । 

Advertisement

Advertisement