थ्रीस्टार उपाधिका लागि आज इस्ट बङ्गालसँग भिड्दै

Advertisement

काठमाडौँ। भारतको गुवाहाटीमा जारी ६४औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार नेपालको थ्रीस्टार क्लबले घरेलु टोली इस्ट बङ्गाल क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टारले सिक्किम युनाइटेड र इस्ट बङ्गालले सिलोङ लाजोङ फुटबल क्लबलाई पराजित गर्दै उपाधिका लागि भिडन्त पक्का गरेका हुन् । छ वर्षअघि प्रतियोगिताको अन्तिमचरणमा पुगेर उपाधि जित्न असफल थ्रीस्टारले प्रतियोगिताकै बलियो टोली इस्ट बङ्गाललाई फाइनलमा प्रतिद्वन्द्वी पाएको हो ।

Advertisement

थ्रीस्टारले समूह चरणमा नागाल्यान्डलाई ६–१ ले पराजित गरेको थियो भने सिलोङ लाजोङ र ओयल इन्डियासँग १–१ गोलको बराबरी गरेको थियो । एक महिनाअघि एएफसी कपको प्लेअफमा छनोट भएको थ्रीस्टारले सेमिफाइनलमा सिक्किम युनाइटेडलाई अतिरिक्त समयको खेलमा ४–१ गोल अन्तरले पराजित गरेको थियो । थ्रीस्टारले विपक्षीको पोष्टमा १२ गोल गरेको छ भने चार गोल मात्र ब्यहोरेको छ ।

जारी प्रतियोगितामा एक गोल पनि नखाएको इस्ट बङ्गालले विपक्षीको पोस्टमा १२ गोल गरेको छ । समूह चरणमा इस्ट बङ्गालले बङ्गलादेशका बोनगोबिर ओग्रागामी क्लबलाई ६–० ले हराएको थियो भने सिक्किम युनाइटेडलाई २–० ले तथा गुवाहाटीको स्थानीय क्लबलाई ३–० ले हराएको थियो । सेमिफाइनलमा उसले सिलोङ लाजोङलाई १–० ले पराजित गरेको थियो । फाइनल खेल गुवाहाटीस्थित नेहरु स्टेडियममा आज अपराह्न सुरु हुनेछ । रासस

 

Advertisement

Advertisement